राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी

एजेन्सी, १३ बैशाख । चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भाग लिइन् । समारोहमा चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिसिएटिभमा उच्च गुणस्तरको दिगोपनाका आधारभूत संरचना, जोखिम सहन सक्ने क्षमता, उचित मूल्य, समावेशीपना तथा पहुँच हुनुपर्नेमा जोड दिए।

सो अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका साथै अन्य मुलुकका सरकार प्रमुखहरुले पनि आफ्नो धारणा राखेका थिए थियो । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि रहेका छन् ।