आमा

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । सामाजिक सञ्जालका भित्ता आमाका तस्विरले भरिएका छन् । आज फलफुल, मिठाई र अन्य सुस्वादु भोजन तथा नयाँ वस्त्रादि आमालाई उपहार अर्पण गरिन्छ । आमा दिवंगत हुनेले पनि आमालाई तर्पण दिने गर्छन् । भारतीय कवि ‘ओम व्यास’को ‘आमा’ शीर्षक कविताको नेपाली अनुवाद संसारका सबै आमाहरुका लागि अर्पित छ ।

आमा, आमा तिमी समवेदना,भावना,बोध
आमा,तिमी जीवनको फूलमा सुगन्धको बास
आमा, आमा, आमा

तिमी रोइरहेको सन्तानलाई खुशीयाली दिने कोक्रो
आमा, आमा तिमी मरुथलमा नदी र मीठो झरना
आमा तिमी लोरी हौं, गीत हौ ,
आमा तिमी स्नेहले भरिएको थुम्थुम्याई
आमा पूजाको थाली हौ , मन्त्रको जाप हौ
आमा,आमा तिमी बलिन्द्र अश्रुधाराको किनारा हौ
आमा, आमा तिमी गालामा म्वाई हौ
ममताको धारा हौ आमा, आमा

आमा व्यथित हृदयका लागि कोकिल कण्ठ हौ
आमा मेहंदी हौ,सिम्रिक हौ, सिन्दर हौ,रंग हौ
आमा, आमा, आमा तिमी कलम हौ
आमा तिमी मसी हौ अक्षर हौ
आमा परमात्माकी स्वयम् एक साक्षी हौ
आमा तिमी त्याग हौ,तपश्या हौ, सेवा हौ
आमा, आमा तिमी फुकेर सेलाईएको गाँस हौ
आमा तिमी अनुष्ठान हौ,साधना हौ
जीवनको यज्ञ हौ

आमा तिमी जीवनको गलीमा आत्माकी भवन हौ
आमा चुरा लगाउने हात तर मजवुत काँध हौ
आमा तिमी काशी हौ कावा हौ, चारधाम हौ
आमा तिमी सन्तानप्रति चिन्ता हौ
आमा, सम्झना हौ, वाडुली हौ
आमा सन्तानको चोटमाथि भक्कानो हौ
आमा तिमी चुल्हो, धुँवा, रोटी र हातका ठेला हौ
आमा, जीवनको कर्कशतामा अमृतको प्याला हौ
आमा पृथ्वी हौ, जगत हौ, र धुरी हौ

आमा बिना यो सृष्टिको कल्पना अधुरो छ
आमा तिम्रो कथा अनादि छ
आमा तिमी होइनौं मात्र एक अध्याय
जगतमा छैन तिम्रो पर्याय

अनुवाद – अर्जुन थपलिया