गैंडा खाग काण्ड : चेपाङलाई मुद्दाको चाङ

 

चितवन, २५ बैशाख । जिल्ला अदालतलले गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको अभियोगमा रदिलबहादु भनिने शक्तिखोर द्रबेटारका राजकुमार चेपांगलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासबाट चेपाङलाई कसुर ठहर हुने फैसला भएको हो । उक्त फैसलाअनुसार सजाय निर्धारण सोमबार भएको अदालतका तहसिलदार शाखा अधिकृत हरिगोपाल ज्ञवालीले जानकारी दिए ।
राजकुमारलाई गैंडा मुद्दामा सजाय भएको यो नै पहिलो हैन । उनलाई यसअघि दुईवटा मुद्दामा अहिलेको भन्दा धेरै सजाय भएको छ । भरतपुर कारागारका सूचना अधिकारी रामबाबु श्रेष्ठका अनुसार चितवन राष्ट्रिय निकुञ्जले पनि ०७२ सालको भदौ २३ मा राजकुमार चेपाङलाई गैंडा मारेर खाग बिक्री गरेको अभियोगमा १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना सुनाएको थियो आजको कान्तिपुरमा पत्रकार रमेशकुमार पौडेलले लेखेका छन् ।

त्यसपछि विसं. २०७४ सालको माघ १८ मा थप अर्को मुद्दामा राजकुमारलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ । यो सजाय चितवन जिल्ला अदालतले गरेको हो । गैंडा मारेको अभियोगमा पहिला चितवन राष्ट्रिय निकुञ्जमा नै मुद्दा दायर भई फैसला हुने गर्दथ्यो । ०७२ साल असोज ३ मा संविधान जारी भएसँगै अदालतमा मुद्दा दायर हुन थालेको हो ।

०६० सालको चैत महिनामा निकुञ्जभित्र पर्ने देवीताल क्षेत्रमा दुईवटा गैंडा मारेको अभियोगमा राजकुमारलाई पछिल्लो सजाय भएको हो । निकुञ्जमा ६२ सालमा यो घटनामा संलग्न भएका अन्य व्यक्तिहरू पक्राउ परेपछि राजकुमारको संलग्नता खुलेको निकुञ्ज कार्यालयले जनाएको छ । फरार रहेका राजकुमार पछि पक्राउ परेर भरतपुर कारागारमा बस्दै आएका छन् ।

जुटपानीका सानु तमाङ भन्ने सुरेन्द्र सिन्दनले ‘राजकुमारले भरुवा बन्दुकले दुईवटा गैंडा मारेको र खाग बेचेर आएको पैसाबाट २० हजार रुपैयाँ मलाई दिएका हन्’ भन्ने बयान निकुञ्जसमक्ष गरेका कारण राजकुमारमाथि मुद्दा दायर भएको थियो । तर राजकुमारले आफूमाथि लागेको यो आरोप अस्वीकार गरेका छन् । गाउँमा कुलो बनाउने ठेक्का नपाएको विषयमा सुरेन्द्रसँग आफ्नो भनाभन र कुटपिट भएको राजकुमारले बताएका छन् ।

‘सोही कुटपिटको रिसईबीले मलाई पोल गरेको हुनुपर्छ’ राजकुमारले आफ्नो बयानमा भनेका छन् । तर अदालतले ‘राजकुमारले कसुर गरेकोमा विवाद रहेको नदेखिने’ भन्दै ठहर र सजायको फैसला सुनाएका हुन् । गैंडा मारेको फरक फरक तीन मुद्दामा उनले कसुर ठहर भएर सजाय पाएका छन् ।

‘तीनवटा फरक फरक मुद्दामा कैद मात्रै ४० वर्ष पुगेको छ । तर ४० वर्ष नै जेल बस्नुपर्छ भन्ने हैन । जुन ठूलो सजाय छ त्यही भोग्नुपर्ने हुन्छ,’ तहसिलदार ज्ञवालीले भने । गैंडा मुद्दामा उनीमाथि सवैभन्दा ठूलो सजाय १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ । ‘कैद हद गरी पाऊँ’ भनेर कैदीले अदालतमा निवेदन दिएपछि इजलास बसेर यसको छिनोफानो हुने ज्ञवालीले बताए ।

गैंडा मारेर खाग बेचेको आरोपमा निकुञ्ज आसपासमा बस्ने थारू, कुमाल, बोटे र पहाडी क्षेत्रमा बस्ने चेपाङहरू अत्याधिक मात्रामा पक्राउ पर्ने गर्छन् । पछिल्लो समय गैंडाको चोरी सिकार कम हुँदै गएपछि पक्राउ पर्ने क्रम रोकिएको छ । कुनै बेला भरतपुरको कारागारमा गैंडा मुद्दाका कैदी बन्दी अत्याधिक हुन्थे । अहिले ७२७ कैदी र थुनुवा रहेको भरतपुर कारागारमा गैंडा मुद्दाका कैदी ९७ जना रहेको सूचना अधिकारी रामबाबु श्रेष्ठले बताए ।