संस्कृतिविद् सत्यमोहन सय वर्षमा, ललितपुर र गोदावरी नगरमा सार्वजनिक बिदा

 काठमाडौं बैशाख ३० । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आज (वैशाख ३०) देखि ९९ वर्ष पूरा गरी १०० वर्षमा लागेका छन्।

यस उपलक्ष्यमा उनको सम्मान गर्दै उनको गृहजिल्ला ललितपुरका दुई नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्।

जोशी देशकै एक अनमोल रत्न भएको भन्दै उनी सय वर्ष टेकेको उपलक्ष्यमा आज (सोमबार) ललितपुर महानगपालिका र गाेदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

उक्त महानगरपालिका र नगरपालिकाभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य संघसंस्थामा बिदा दिइएको सूचनामार्फत जानकारी गराइएको छ।

उनको जन्मोत्सव मनाउन ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम पनि आयोजना गर्दैछ। महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार जोशीका नाममा उद्यान र सडक निर्माण गर्ने निर्णय पनि भएको छ।

गत वर्ष ललितपुर महानगरपालिकाले जोशीलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो। जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको हो।