राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजाआजा

जनकपुर वैशाख, ३० । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।  हरेक वर्ष वैशाख शुक्ल पक्ष नवमीका दिन धुमधामका साथ मनाइने जानकी नवमी पर्वमा सहभागी हुन राष्ट्रपति भण्डारी सोमबार बिहान जनकपुरधाम पुगेकी हुन् । जनकपुर पुगेलगत्तै उनले प्रसिद्ध जानकी मन्दिरमा पूजाआजा गरेकी थिईन् । राष्ट्रपति भण्डारीले जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन समेत गरेकी थिइन् ।

उनले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको खुलेरै प्रशंसा समेत गरिन् । उनले यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन् ।
आज माता जानकीको जन्मजयन्ती प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासपूर्वक मनाइरहेको छ।
माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।

मिथिलावासीले यस तिथिलाई धेरै महत्वपूर्ण ठान्दछन् र यसअवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ । उक्त अवसरमा विशेषरूपमा जनकपुरधामको नौलखा मन्दिरमा बिहानैदेखि श्रद्धालु पूजापाठ र बधाई गानका लागि उमङ्गीत देखिन्छन् ।
बिहानै दुग्धमति नदीमा स्नान गरी जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु जीवनलाई कृत्य सम्झन्छन् । सो मन्दिरको गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर रामकथा, जानकी जन्मको विवेचन, बधाई गीत, छठी महोत्सव मनाइने चलन रहेको छ ।