राष्ट्रिय नागरिक पार्टीको नगर कमिटी गठन

चितवन, ३१ बैशाख । राष्ट्रिय नागरिक पार्टीले देशव्यापी रुपमा सङ्गठन विस्तारको अभियानलाई तीव्रता दिएको छ । भ्रष्टाचारलाई निर्मुल, देश र जनताको हितका लागि पार्टी निर्माण गरिएको भन्दै देशव्यापी रुपमा सङ्गठन विस्तार सुरु गरिएको हो ।
सो कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय अध्यक्ष शुक्रकुमार गुरुङले एक वर्ष भित्रमा ७७ वटै जिल्लामा संगठन विस्तार गरिने बताए । नेपालमा ठूला दलहरुले जनताका लागि काम नगर्दा आफूहरुले वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय नागरिक पार्टीको स्थापना गरेको गुरुङको भनाइ छ । अधिकांश नागरिक गरिबीको रेखामुनी रहेको तथा धनीहरु झन् धनी बन्दै गइरहेको अवस्थामा भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने आफूहरुको राष्ट्रिय एजेण्डा रहेको गुरुङले बताए ।
५१ सदस्यीय केन्द्रीय कमिटि रहेको राष्ट्रिय नागरिक पार्टीले २८ वटा जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको छ । २०७० सालमा स्थापना भएको सो पार्टीले जिल्ला सङ्गठन विस्तारसँगै गाउँ र नगर कमिटि समेत गठन गर्दै संगठनलाई थप मजबुत बनाइरहेको गुरुङले बताए । पार्टीले चितवनको माडीमा संगठन विस्तार गरिसकेको छ भने सोमबार कालिकामा नगर कमिटि गठन गरेको हो ।
कालिका नगर कमिटिको उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सचिव राजेश्वर खतिवडाले युवाहरु विदेश पलायन हुँदा राष्ट्रको विकास हुन नसकेको बताए । वैदेशिक रोगजारमा जाने व्यक्तिहरुको सङ्ख्या न्यूनीकरण गर्दै स्वदेशमा नै उत्पादन र उद्योग वृद्धि गर्नुपर्ने खतिवडाले बताए । वैदेशिक रोजगारले रेमिट्यान्स भिœयाएको भएपनि त्यो भन्दा बढी सामाजिक विचलन र विकृति भित्रिएको खतिवडाको भनाइ छ ।
सो कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष केशवनाथ शुक्लाले नेपाल हिन्दु राज्य हुनुपर्ने बताए । नेपालमा जबरजस्ती रुपमा धर्म निरपेक्षता लादिएको उल्लेख गर्दै राजतन्त्र र हिन्दु राष्ट्र हुनुपर्ने माग गरे । विश्वमा एक मात्रै हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई विदेशीको ईशारामा लागेर धर्म निरपेक्षा घोषणा गरिएको शुक्लाले आरोप लगाए ।
सोमबारको कार्यक्रम मार्फत राष्ट्रिय नागरिक पार्टीको कालिका नगर कमिटि निर्माण गरिएको छ । कालिका नगर कमिटिको प्रमुखमा विकाश रुम्बा रहने गरी १७ सदस्यीय नगर कमिटि गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष रामलाल महतोले बताए । नगर कमिटिको उपाध्यक्षमा देवी गुरुङ तथा सचिवमा अर्जुन सुवेदी चयन गरिएको छ भने बाँकी १४ जनालाई सदस्यमा मनोनित गरिएको महतोको भनाइ छ ।
विभिन्न राजनीतिक पार्टी छोडेर राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका व्यक्तिहरुलाई केन्द्रीय अध्यक्ष शुक्रबहादुर गुरुङ सहित केन्द्रीय पदाधिकारीहरुले टिका तथा ढाका टोपी लगाएर पार्टी प्रवेश गराएका थिए । कालिका नगर कमिटि विस्तारसँगै चाँडै नै रत्ननगर, राप्ती, इच्छाकामनामा समेत सङ्गठन विस्तार गरिने जिल्ला अध्यक्ष महतोले बताए ।