निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै

चितवन, ३१ बैशाख । समाजलाई लागु औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम सञ्चालन गरिएको छ । रिकोभरीङ नेपालसँगको सहकार्यमा नेपाल सरकारको अनुमतिले न्यू वे फाउण्डेशनले निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम सञ्चालन गरेको हो ।
न्यू वे फाउण्डेशनका कार्यक्रम संयोजक भेलन गुरुङका अनुसार लागु औषध प्रयोगकर्ताहरुको सुरक्षाका लागि निशुल्क रुपमा निडल सिरिन्ज वितरण कार्यक्रम गरिएको हो । ‘हामीले लागु औषध सेवन गर्न प्रोत्साहनका लागि निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम सञ्चालन गरेका होइनौ’ गुरुङले भने, –‘दुर्व्यसनीलाई लागु औषधमुक्त बनाउनका लागि मनोपरामर्श समेत दिँदै आइरहेका छौँ ।’ आफूहरुकोमा निडल सिरिन्ज लिन आउने दुर्व्यसनीलाई लागु औषधबाट हुने हानीको बारेमा मनोपरामर्श दिँदै पुनर्स्थापना केन्द्रमा जानका लागि प्रेरणा प्रदान गरिने समेत गुरुङले बताए ।
सिरिन्ज मार्फत लागु औषध प्रयोग गर्ने व्यक्तिलाई ट्याब्लेट औषधि हुँदै उनीहरुलाई लागु औषधमुक्त बनाउनका लागि काम गरिएको गुरुङले बताए । निडल सिरिन्ज लिन आउने व्यक्तिलाई रगत चेकजाँच गर्न उत्प्रेरणा गर्दै उनीहरुको एचआईभी परीक्षण गरिने गुरुङले जानकारी दिए । सङ्क्रमण घटाउने, क्षतिलाई न्यूनीकरण गर्ने उद्धेश्यसहित निडल सिरिन्जको साथमा कण्डम समेत वितरण गर्दै आएको गुरुङको भनाइ छ ।
आफूहरुले निडल सिरिन्ज वितरण सुरु गरेपछि लागु औषध प्रयोगकर्ताहरुलाई विभिन्न सङ्क्रमण समेत कम हुँदै गएको गुरुङले जानकारी दिए । न्यू वे फाउण्डेशनले सोमबार भरतपुरमा आयोजना गरेको प्रहरी अभिमुखीकरण बैठकमा कार्यक्रम संयोजक गुरुङले सन् २०१८ अप्रिलदेखि हालसम्म नौ सय ३५ जनालाई सेवा प्रदान गरेको बताए । कार्यक्रम लागू भएपछि हालसम्म ९६ हजार चार सय ५२ वटा निडल सिरिन्ज तथा २५ हजार कण्डम वितरण गरिएको गुरुङले बताए ।
सो कार्यक्रममा निर्णयका कार्यक्रम संयोजक विज्ञान अधिकारीले आफूहरुले लागु औषध सेवनका लागि प्रोत्साहन गर्ने नभइ उनीहरुको बानी व्यवहार परिवर्तन गराउँदै लागु औषधमुक्त समाज बनाउने बताए । निडल सिरिन्ज वितरण गर्दा समाजमा अपराध नियन्त्रण हुने अधिकारीले बताए । सन् २०२० सम्म प्रत्येक घरका सदस्यको एचआईभी परीक्षण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको अधिकारीको भनाइ छ ।
समाजमा सचेतना फैलाउनका लागि संस्थाले विद्यालय अभिमुखीकरण, प्रहरी अभिमुखीकरण तथा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।