ठेक्कापट्टामा सेना

मुलुकको सुरक्षाका लागि सेना निर्माण गरिएको हुन्छ । उनीहरुलाई त्यसै अनुसारको तालिम समेत प्रदान गरिएको छ । पछिल्लो समय नेपाली सेनालाई उनीहरुको जिम्मेवारी भन्दा फरक तरिकाले परिचालन गर्ने पद्धती बढ्दै गएको छ । ठूला खालका संरचना निर्माणका लागि नेपाली सेनाले ठेक्का लिने र काम गर्ने प्रचलन बढ्दै गएको छ । सेनाले विभिन्न सडकहरु निर्माण गरेको छ । कर्णालीको जाजरकोट–डोल्पा सडक होस् वा कालीगण्डकी करिडोर नै किन नहोस् । सेनाले सडक निर्माणमा हात हाल्दै काम गर्न सुरु गरेको छ । सेनालाई आफ्नो जिम्मेवारी बाहेकका फरक जिम्मेवारीमा लगाइनु कतिको आवश्यक हो अथवा अनावश्यक काममा लगाइरहेका छौँ यो विषयमा खासै छलफल र बिहस भएको पाइदैन ।
नेपाली सेनालाई विकास निर्माणको काममा लगाउन मिल्ने वा नमिल्ने विषयमा कुरा बहस नभएपनि सरकारमा भएका व्यक्तिहरुले असहज तथा गाह्रो काम र अनावश्यक विवाद आउने खालका कामहरु गर्ने जिम्मेवारी सेनालाई दिन तयार हुन्छन् । यसै क्रममा बारा तथा पर्सामा यही चैत १७ गते आएको हावा–हुरी (टोर्नाडो) प्रभावितलाई आवास निर्माण गर्ने कार्यको जिम्मा पनि नेपाली सेनालाई दिने सरकारले घोषणा गरेको छ । बारा तथा पर्सामा आउँदो वर्षाअघि नै प्रभावितलाई छतको व्यवस्था गर्ने घोषणा आफैंमा स्वागतयोग्य छ । यद्यपि विगतका अनुभवका आधारमा यो घोषणा कार्यान्वयन हुने विषयमा शंका गर्ने प्रशस्त कारण छन् ।

२०६५ साल भदौ २ मा सुनसरी जिल्लामा कोशीको बाढीमा परेर विस्थापित भएका कतिपय परिवार अहिलेसम्म टहरामा नै बसोबास गर्न बाध्य छन् । त्यस्तै २०७१ साल असार २८ र २९ गते सुर्खेतमा बाढीले नौ सय घर बगायो र त्यस घटनाका कतिपय पीडित अझैपनि अस्थायी शिविरमा नै जीवन बिताउन बाध्य छन् । यस सन्दर्भमा बारा र पर्साको हावा–हुरीमा परेकालाई सरकारले तदारुकताका साथ पक्का छतको ओत दिलाउन असफल हुने सम्भावना देखिन्छ ।
विकास–निर्माणका काममा खटिएका सेनाका कतिपय माथिल्ला तहका अधिकृतहरुको आर्थिक अवस्था ह्वात्तै बढेको पनि देखिएका÷सुनिएको छ । तर, सेनाका अधिकृतका विषयमा यस्ता विवादित विषय आउनु देशका लागि नै हितकर हुँदैन । नेपालको एकताका लागि अहिले देखिएको सबैभन्दा सशक्त संस्था नेपाली सेनामात्रै हो ।

नेपाली जनताले राजनीतिक दल, न्यायालय, सरकारी कर्मचारी सबैलाई एक समान भ्रष्ट भन्ने सोच पाल्दै गरेको वर्तमान अवस्थामा नेपालको अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय एकताको सुरक्षाको एक खम्बाको रुपमा नेपाली सेना रहेको छ । यदि, नेपाली सेनालाई जनतासँग सिधै सम्बन्ध राख्ने र आर्थिक क्रियाकलापमा प्रोत्साहित गर्दै जाने हो भने तिनको साख पनि विस्तारै खिईंदै जान्छ । त्यसकारण पनि नेपाली सेनालाई ठेक्कापट्टा जस्ता विषय वस्तुमा धकेल्नु हुँदैन । उनीहरुलाई पेसागत रुपमा व्यवसायिक बनाउनुपर्छ नकी ठेक्कापट्टा दिलाएर ।