वन पैदावार आपूर्ती समिति चितवनले सालको काठ धमाधम बिक्री वितरण गर्दै

आशिष उप्रेती
चितवन, जेठ १ । जिल्ला वन पैदावार आपूर्ती समिति चितवनले जिल्ला वन कार्यालयको डिपोबाट अहिले चिरान गरेको सालको काठ धमाधम बिक्री वितरण गरीरहेको छ । निजी फर्निचरमा महंगो मूल्यमा काठ किन्नुपर्ने हुदा सर्वसाधारणहरुलाई सहजताको लागि सहुलियत दरमा समितिले हरेक वर्ष सालको चिरान गरेको काठ बिक्री वितरण गर्दै आईरहेको छ ।
जिल्ला वन पैदावार आपूर्ती समिति चितवनले घर काजको प्रयोजनको लागि, विकास निर्माणको प्रयोजनको लागि र दैविक प्रकोपको प्रयोजनको लागि चिरान गरेको सालको काठ बिक्री वितरण गर्दै आईरहेको छ ।

आपूर्ती समितिले घर काजको लागि, विकास निर्माणको लागि र दैविक प्रकोपको लागि चालु आर्थिक वर्ष ०७५/०७६ को गत शुक्रबारसम्म ९ हजार ३ सय ९४ दशमलव ९ क्वीफिट चिरान गरेको सालको काठ बिक्री गरीसकेको जिल्ला वन पैदावार आपूर्ती समिति चितवनका सदस्य सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष ०७५/०७६ को गत शुक्रबारसम्म घर काजको लागि ३ सय ३४ जनालाई ७ हजार ८ सय ६० दशमलव १८ क्वीफिट चिरान गरेको सालको काठ बिक्री वितरण गरीसकेको छ । त्यसैगरी चालु आर्थिक वर्ष ०७५/०७६ को गत शुक्रबारसम्म विकास निर्माण अन्तरगत सामुदायिक विध्यालय, सरकारी विध्यालय र मठ मन्दिर एवंम् सामाजिक विकासका १० वटा संस्थाहरुलाई ४ सय ८९ दशमलव ७७ क्वीफिट र दैविक प्रकोप अन्तरगत भुकम्प पिडित र आगालागिबाट पिडित भएकाहरु जम्मा ४७ जनालाई १ हजार ४४ दशमलव १४ क्वीफिट चिरान गरेको सालको काठ बिक्री वितरण गरीसकेको उहाले बताउनुभयो ।

जसमध्ये ३६ जना भुकम्प पिडितले ९ सय ८ दशमलव ५७ क्वीफिट र ११ जना आगालागिबाट पिडित भएकाहरुले १ सय ३५ दशमलव ५७ क्वीफिट चिरान गरेको सालको काठ पाएको बताउनुभयो । भुकम्प पिडितले प्रतिब्यक्ति २५ क्वीफिट काठ पाउने ब्यवस्था रहेको थियो भने आगालागिबाट पिडित भएकाहरुले प्रतिब्यक्ति साढे १२ क्वीफिट काठ पाउने ब्यवस्था रहेको थियो ।
अहिले चालू आर्थिक वर्ष ०७५÷०७६ को लागि घरकाज र विकास निर्माणको प्रयोजनको लागि प्रति क्वीफिट सालको काठको खुद विक्री मुल्य ३ हजार ४५ रुपैया (मूल्य अभिवृद्धि कर सहित) रहेको छ ।

त्यसैगरी दैवि प्रकोपको प्रयोजनको लागि प्रति क्वीफिट खुद विक्री मुल्य १ हजार २ सय ६५ दशमलव ६० रुपैया (मूल्य अभिवृद्धि कर सहित), बेसाईज काठको प्रति क्वीन्टल खुद विक्री मुल्य ३ हजार १ सय रुपैया (मूल्य अभिवृद्धि कर सहित) र बाकल काठको प्रति क्वीन्टल खुद विक्री मुल्य ७ सय रुपैया (मूल्य अभिवृद्धि कर सहित) रहेको छ ।
जिल्ला वन पैदावार आपूर्ती समिति चितवनले घर काजको प्रयोजनको लागि सोमबार र बिहिबार, विकास निर्माण र दैवि प्रकोपको प्रयोजनको लागि शुक्रबार, बेसाईजको काठ मंगलबार र बाकल हुने काठ आईतबार तालिका बनाएर बाड्ने गरेको छ ।
घर काजको लागि काठ पाउनको लागि २०७५ माघ २२ गतेदेखि फागुन ७ गतेसम्म सुचना प्रकासित गरेको र भुकम्प पिडितको लागि भने २०७५ माघ २२ गतेदेखि चैत मसान्तसम्म सुचना प्रकासित गरेको थियो । विकास निर्माणको लागि भने वन पैदावार आपूर्ती समितिमा काठ भईन्जेल सालको काठ विक्री वितरण गरीरहने जिल्ला वन पैदावार आपूर्ती समिति चितवनका सदस्य सचिव कृष्ण प्रसाद अधिकारीले बताउनुभयो ।
उहाका अनुसार गत चैत मसान्त सम्ममा काठ पाउनको लागि ११ सय १२ जनाको निवेदन परेको छ । गत आर्थिक वर्ष ०७४÷०७५ मा ११ सय ८१ जनाको निवेदन परेको थियो । जसमा घर काजको लागि र भुकम्प पिडितको धेरै निवेदन परेको थियो । गत वर्ष ४३ हजार क्वीफिट चिरान गरेको सालको काठ विक्री वितरण गरेको उहाले बताउनुभयो ।
समितिले चैत महिनाबाट सुरु गरेको सालको काठ विक्री वितरण गर्ने कार्यक्रम आउदो यहि असार मसान्तसम्ममा वितरण गरीरहने छ । यस वर्ष भने ५० हजार क्वीफिट गोलिया काठलाई चिरान गरी बाड्ने लक्ष्य रहेको जिल्ला वन पैदावार आपूर्ती समिति चितवनले जनाएको छ ।