‘प्लस–टु’मै कानून पढाउने कलेजले माग्यो १२० कर्मचारी (विज्ञापनसहित)

काठमाडौं,१ जेठ । कुनै बेला नेपालमा प्रवीणता प्रमाणपत्र तहमा नै कानूनको पढाइ हुन्थ्यो। त्यसलाई आइएल भनिन्थ्यो। तर, अहिले सरकारले स्नातकभन्दा तल्लो तहमा कानून विषय हटाएको छ।
अहिले नेपाली विद्यार्थीहरुले कानून पढ्न कम्तिमा ‘प्लस–टु’ उत्तीर्ण गरेको हुनुपर्छ। ‘प्लस–टु’ उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्दछ। त्यसैगरि स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे कोर्समा एलएलबी गर्नसक्ने व्यवस्था छ।
तर, नेपालमा पहिलोपटक काठमाडौंको एक कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन थालेको छ। तल्लो तहबाटै कानून पढाउँदा भविष्यमा अधिवक्ता वा न्यायाधीश हुने वा कानूनी क्षेत्रमा काम गर्ने व्यक्तिहरुको विज्ञतामा निखार आउने मान्यताका साथ ‘प्लस–टु’मै कानून पढाउन थालिएको हो।
काठमाडौंको बानेश्वरमा सञ्चालनमा आएको नेपाल विद्यापीठ कलेजमा कक्षा ११ देखि नै कानूनको पढाइ हुने भएको हो। कलेजका सञ्चालकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता, शिक्षाविद लगायत कानूनी र शैक्षिक क्षेत्रका ज्ञाताहरु रहेका छन्।
नेपाल विद्यापीठ कलेजमा कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको पढाइ हुनेछ। ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्तानकमा कानून विषय पढ्न पाउनेछन्। यो सुविधा नेपालमा पहिलोपटक सञ्चालनमा ल्याइएको हो। कलेज सञ्चालनमा आएपछि विद्यार्थीको चाप बढ्न थालेको सञ्चालकहरु बताउँछन्।
भर्खरै सञ्चालनमा आएको कलेजले यसै शैक्षिक क्षेत्रका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कलेजले प्रिन्सिपल, भाइस प्रिन्सिपल लगायतका सम्पूर्ण पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक र कर्मचारी लिन लागेको हो।