यौनधन्दा चलाएको आशंकमा होटलमा छापा, होटल मालिक सहित ७ जना पक्राउ

कावासोती,१ जेठ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले नवलपुरका होटलहरुमा यौन व्यवसाय हुने गरेको आशंकामा होटलहरुमा छापा मार्ने क्रमलाई तिब्रता दिएको छ ।
सोही क्रममा मंगलबारराति पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा रहेको रिमझिम होटलबाट प्रहरीले होटल मालिक सहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अर्जुन रानाभाटले बताए ।
उक्त होटलका मालिक मध्यविन्दु ९ बसन्तपुर सावित्रा भण्डारी सहित २ महिला र ४ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकाहरुसँग सोधपुछ गर्ने क्रम चलिरहेको र घटना अलि गहिरिएर अनुसन्धान गर्नु पर्ने देखिएकोले तत्काल केही भन्न नसकिने रानाभाटले बताए ।
पक्राउ परेकाहरु आपत्ति जनक अवस्थामा फेला नपरेको तर उक्त होटलमा यौन व्यवसाय हुने गरेको सूचनाको आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक एवम् सूचना अधिकारी अर्जुन रानाभाटले बताए ।
राति १२ बजेको समयमा प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
रानाभाटका अनुसार नवलपुरमा अहिले प्रहरीले नवलपुरका होटल तथा गेष्टहाउसहरुमा व्यापक रुपमा सर्च शुरु गरेको छ । यस अघि यसरी कोही पक्राउ नपरे पनि रिमझिम होटलबाट भने ७ जनालाई नियन्त्रणमा लिएर ल्याएको बताए ।