गैँडाकोटमा दुइटा नमुना विद्यालय बन्ने

गैँडाकोट, ०१ जेठ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका क्षेत्र भित्र दुई वटा नमुना विद्यालय बन्ने भएका छन् । बुधबार दिउँसो नमुना विद्यालयका लागि प्रतिनिधिसभा सांसद डाक्टर शशांक कोइरालाले भवन शिलान्यास गरेका हुन् ।
डाक्टर शशांक कोइरालाले गैँडाकोट नगरपालिका वडा नम्बर ५ को जनक नमुना माध्यमिक विद्यालय र गैँडाकोट ६ को कालिका नमुना माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका हुन् । नमुना माध्यमिक विद्यालय विकास वहुवर्षीय योजना अन्तर्गत यस आर्थिक वर्षमा एक विद्यालयका लागि एक करोड ५० लाख रुपैयाँ रकम विनियोजन भएको छ । जसमध्ये ६५ प्रतिशत रकम भौतिक पूर्वाधार तर्फ र बाँकी ३५ प्रतिशत रकम शैक्षिक सुधारमा खर्च हुने कालिका माविका प्रधानाध्यापक प्रजानाथ कंडेलले बताए ।
पहिलो तला सम्पन्न हुनका लागि एक करोड १७ लाख रुपैयाँ इन्जिनीयरिङ इस्टिमेट रहेको गैँडाकोट नगरपालिकाका सहायक इन्जिनीयर शंकर कँडेलले बताए । कँडेलका अनुसार यस तीन तले भवनमा १२ वटा कोठा मध्ये यस वर्ष पहिलो तलाका चार कोठा तयार हुनेछन् । विनियोजित रकम मध्ये ९७ लाख भौतिक पूर्वाधार तर्फ खर्च हुनेछ ।
ग्राउण्ड फ्लोरका लागि यस वर्ष रकम विनियोजन भएको हो । काँग्रेस चोक नजिक रहेको खेलमैदानमा जनक माविको नमुना विद्यालय निर्माण हुनेछ । जनकको भवन शिलान्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनभक्त अधिकारीको अध्यक्षतामा भएको थियो । कालिका माध्यामिक विद्यालयको नमुना विद्यालयको भवन शिलान्यास विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।