चितवन राष्ट्रिय निकुञ्जमा मेकानिकल उपकरणबाट घांसे मैदान व्यवस्थापन गरिने

चितवन २ बैशाख। चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणका लागि मेकानिकल उपकरणबाट घांसे मैदान व्यवस्थापन गरिने भएको छ ।
एकसिगे गैडा लगायतका वन्यजन्ुत संरक्षणका लगि घाँस उपयुक्त हुने भएपनि मिचाहा प्रजातिका कारण घासे मैदान घटेपछि निकुञ्जले मेकानिकल उपकरणबाट घांसे मैदान व्यवस्थापन गर्न लागेको हो ।
हालसम्म निकुञ्जमा मानिस लगाएर घासे मैदान व्यवस्थापन गरिएपनि कांटछांट गर्न समय धेरै र खर्च बढि हुने भएकाले अत्याधुनिक उपकरण प्रयोग गर्नुको विकल्प नभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । उनले त्यसका लागि राष्ट्रिय निकुञ्ज विभाग र वन मन्त्रालयसंग छलफल भैसकेको जानकारी गराए

स्थापनाका बेला दुई सय वर्गमिटर क्षेत्रफलमा फैलिएको घांसे मैदानको उचित व्यवस्थापन नहुंदा क्षेत्रफल घट्दै गएको छ । सुरुवातमा निकुञ्जको २० प्रतिशत भाग ओगटेको घांसे मैदानको क्षेत्रफल घटेर अहिले १० प्रतिशतमा सिमित भएको छ ।
निकुञ्ज भित्रका घांसे मैदान व्यवस्थापन नहुंदा यहां आश्रित जीवजन्तुहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।
निकुञ्ज भित्रका घांसे मैदानको व्यवस्थापन नहुंदा जनावरहरु घांसको खोजीमा सामुदायिक वन तथा मानव वस्तिसम्म जाने गरेका छन् ।
जसबाट निकुञ्ज आसपासका स्थानीयहरुले जंगली जनावरको आतंक सहनु परेको छ । प्रत्येक वर्ष निकुञ्जले एक सय हेक्टर घांसे मैदान व्यवस्थापन गर्दै आएको भएपनि त्यो पर्याप्त नभएपछि सामुदायिक वनहरुमा घांसको खोजी गर्दै जनावरहरु जान बाध्य हुने गरेको निकुञ्जले जनाएका छ
जंगली जनावर र मानव वीचको दुरी घटाउनका लागि पनि घांसे मैदान व्यवस्थापन जरुरी देखिन्छ ।
जनावरलाई निकुञ्ज भित्रै बस्ने वातावरण र्सिजना गर्नका लागि घांसे मैदान क्षेत्रको सम्भार गर्न पहल सुरु गरीएको अधिकृत ढकालले बताए ।
घांसे मैदान खडाई र बुट्यानहरुले भरीएको हुंदा त्यसलाई कांटछांट गर्नका लागि मेकानिकल उपकरणहरु ल्याउन लागिएको उनले जानकारी दिए ।

यसरी मेशिनबाट काटिएका एकनाशका खडाईहरु निकुञ्ज आसपासका होटलहरुलाई बिक्रि गरी राज्यलाई आम्दानी समेत हुने र मेशीन दिर्घकालीन व्यवस्थापनको श्रोत हुने भएकोले मेकानिकल उपकरण ल्याउन लागिएको उनले बताए ।

त्यस्तै घांसका प्रजातिका बारेमा हालसम्म कुनै पनि किसिमको अनुसन्धान नभएको भन्दै अधिकृत ढकालले निकट भविष्यमा नै विज्ञहरु खटाई घांसका प्रजातिहरु बारे अनुसन्धान गरीने बताए ।