कम्प्युटर भिजन सिन्ड्रोम नेपालमा समेत बढ्दो अवस्थामा

चितवन, ०४ बैशाख । विकसित राष्ट्रसँगै नेपाल पनि कम्प्युटर, मोबाइलजस्ता सञ्चारका साधनको प्रयोगमा अभ्यस्त हुँदै गएको छ। साना–ठूला अभिलेख राख्नेदेखि मनोरञ्जन, खेलजस्ता दैनिकीसमेत मोबाइल र कम्प्युटरमै हुन्छ। यो अभ्यासमा बालबालिका, किशोरकिशोरीदेखि जागिरे, पेसाकर्मी कोही अछुतो छैन। तर यसको प्रभाव नियमित प्रयोगकर्ताहरूको आँखामा परिरहेको चिकित्सक औंल्याउँछन्। यी साधनका प्रयोगकर्र्ताहरूमा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ नामक नयाँ समस्या बढिरहेको उनीहरू बताउँछन्।

तिलगंगा आँखा अस्पतालका अनुसार दैनिक औसत आउने १ हजारजना बिरामीमध्ये २० प्रतिशत कम्प्युटर भिजन सिन्ड्रोम समस्याका छन्। यो समस्या भएका विद्यार्थी, किशोर–किशोरी, बैंकमा काम गर्ने कर्मचारी तथा पेसागत समूह टाउको दुख्यो भनेर अस्पताल पुग्ने गरेका छन्। यो समस्याबाट चिकित्सकसमेत अछुतो नरहेको तिलगंगा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजु बताउँछन्।

यो सिन्ड्रोम भएमा आँखाको डल्लो बाहिर निस्कन खोजेजस्तो, टाउको दुख्ने, एउटै वस्तु दुइटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुक्खा हुने, आँखा चिम्म गरेर बसौं जस्तो हुनेलगायत लक्षण हुन्छन्।
‘कम्प्युटरमा बिरामीको फाइल राख्न थालेपछि बिरामीसित टाढा भएको अनुभूति हुन्छ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने। आँखा कम्प्युटरमा राख्नु परेपछि बिरामीसित आँखाको सम्पर्कबाट हुने भाषा हुन नसकेको सैजुको अनुभव छ। ‘पहिला बिरामीसँग आँखा जुधाएर कुरा हुन्थ्यो, अहिले बिरामीको अभिलेख राख्दा आँखा कम्प्युटरमा हुन्छ।’

डा. सैजुका अनुसार जो दैनिक ६ देखि ८ घण्टाभन्दा बढी समय मोबाइल या कम्प्युटरमा काम गर्छन्, उनीहरूमा यो समस्या आउँछ। नजिकको चिज हेर्ने बेलामा आँखाका ६ वटा मांसपेशीले काम गरिरहेका हुन्छन्। अर्थात दायाँ र बायाँ आँखा गरी १२ वटा मांसपेशीले काम गरिरहेको हुन्छ। यिनै मांसपेशीको सहयोगले आँखाले दायाँ, बायाँ, तलमाथि गरी हेर्ने काम गर्छ। यो प्रक्रियालाई स्टे«रोप्सिस भनिन्छ। नजिकको चिज हेर्ने बेलामा यसले आँखालाई नजिक ल्याउँछ। लामो समयसम्म काम गर्दा ती मांसपेशीमा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या देखिन्छ।

यो सिन्ड्रोम भएमा आँखाबाहिर निस्कन खोजेजस्तो, आँखाको डल्लो बाहिर निस्कने खोजेजस्तो, टाउको दुख्ने, एउटै वस्तु दुइटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुक्खा हुने, आँखा चिम्म गरेर बसौं जस्तो हुनेलगायत लक्षण हुन्छन्।

यो समस्याको समयमै व्यवस्थापन नभएमा लामो समय सताउने चिकित्सक बताउँछन्। त्यसकारण यो समस्याको व्यवस्थापनको सुरुवात पहिला बिरामी आफैंले गर्न सक्छन्। यसका लागि केही थेरापी अपनाउनु पर्छ। जुन फ्रेस भएपछि पुनः काम गर्ने एउटा थेरापी हो। यो थेरापीअन्तर्गत ‘रुल अफ सिक्सटी’ सूत्र प्रतिपादन भएको छ। जसमा ६० मिनेट निरन्तर कम्प्युटरमा काम गरेपछि ६० सेकेन्ड आराम गर्ने र ६० मिटर टाढा बस्नुपर्छ। यदि दुई घण्टा निरन्तर काम गरेको अवस्थामा पाँचदेखि सात मिनेट आराम गरी ३० मिटर टाढा बस्नुपर्छ।

यसो गर्दा कम्प्युटरमा काम गर्नैपर्ने बाध्यता भएकाहरूमा समस्या आउन पाउँदैन। यो समस्यालाई व्यवस्थापन गर्न नसकेमा व्यक्तिमा अनावश्यक दिक्क हुने र तनावमा राख्ने र काम गर्न अप्ठ्यारो हुने समस्या राख्छ। स्वयंले अपनाउने यो थेरापीले निको नभएमा केही आँखाको मांसपेशीको कसरत र चिकित्सकको सुझावमा चस्माको प्रयोग पनि गर्नुपर्ने हुन्छ।