भरतपुरमा जीपलाइनको लागि ७५ लाख लगानी

सूर्यप्रसाद अधिकारी

चितवन , ९ जेठ ।

भरतपुर महानगरपालिका–२ मा रहेको जलदेवी सामुदायिक वनमा ७५ लाख रुपैयाँको लगानीमा जीपलाइन सञ्चालन गर्ने तयारी गरिएको छ । जलदेवी सामुदायिक वन उपभोक्ता समूह र पर्यापर्यटनको क्षेत्रमा काम गर्ने संस्था ‘वाइल्ड वण्डर्स नेपाल’को संयुक्त लगानीमा जीपलाइन सञ्चालन गर्न लागिएको हो ।

यस सामुदायिक वनको भुबनोट यस खेलको लागि उपयुक्त भएकोले वन कार्यालयसंँग अनुमति लिएर सञ्चालन गर्न लागिएको वन उपभोक्ता समितिका अध्यक्ष केशव वहादुर थापाले बताए । उनका अनुसार वनको ५१ प्रतिशत र वाइल्ड वण्डर्सको ४९ प्रतिशत लगानीमा जीपलाइन खेल सञ्चालन गर्ने सम्झौता भएको हो । यसका लागि वनमा रहेका रुखहरु छनौट गर्ने, क्षेत्रफल तय गर्ने तथा टेण्डर प्रक्रियाको काम गरिसकिएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यही असोजबाट पूर्ण रुपमा सञ्चालनमा ल्याइने छ । ‘नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काम अघि बढाएका छौं,’ उनले भने ।

खेलको बिषयमा जानकारी दिँदै वनका उपाध्यक्ष माधव देवकोटाले भने, ‘यो विशेष प्रकारको डोरीका माध्यमबाट एउटा रुखबाट अर्को रुखमा झुन्डिदै खेलिने खेल हो ।’ उनका अनुसार वनको १ हजार ५० मीटर वरिपरिका रुखहरुमा डोरी बाँधेर, खेलप्रेमीले घिर्नीको सहायताबाट एक रुखबाट अर्को रुखमा सुर्किएर जान सक्छन् ।

वण्डर्स नेपालका सञ्चालक राजकुमार श्रेष्ठले भने, ‘यो पूर्ण रुपमा सुरक्षित, साहसिक र रोमाञ्चक खेल हो ।’ सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग गरिएको साथै बीमा समेत गरिएकाले खेलमा जोखिम नरहेको उनले बताए । सबै उमेर समूहकाले खेल्न सकिने भएकाले पनि पर्यटक आकर्षित हुने र यसबाट चितवनको पर्यटनमा केही टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ । थाइल्याण्ड, मलेशिया, सिंगापुर, भियतनाम लगायतका देशहरुमा यस खेलप्रति पर्यटकको आर्कषण धेरै रहेकाले नेपालमा पनि यो अभ्यास गरिएको श्रेष्ठले बताए । ‘हामीले ती देशहरुमा गएर यसबारे विस्तृत अध्ययन, अवलोकन गर्‍यौं, सोही अनुरुपको उपयुक्त स्थान यहाँ फेला पर्‍यो,’ उनले भने ।

जलदेवी सामुदायिक वन नारायणगढ बजारबाट मुग्लिनतर्फ करीब २ किलोमिटर दूरीमा पर्दछ । यहाँ हाल पिकनिक, बालउद्यान रहनुका साथै पोखरीको निर्माण गरी डुंगा सञ्चालनको तयारी समेत भइरहेको छ ।