कास्कीकोट राजाको दरबारबाट गुड मर्निङ पोखरा

पोखरा , २३ जेठ ।

बुधबार बिहान १० बजे । कास्कीकोट कुहिरोले डम्मै छ । ८९१० मिटर परबाहेकका दृश्य आँखाले भेट्दैन । डम्म लागेको कुहिरो महासागरजस्तो फैलिएको छ । भर्खर पानी परेर बिसाएको मौसम शीतल छ । कास्कीकोट डाँडाको टाकुरामा छ, एउटा दरबार । असिन–पसिन केही हुल मान्छे दरबारमा आइपुगे र केहीले भने गुड मर्निङ कास्कीकोट । केहीले भने, ‘गुड मर्निङ पोखरा ।
ती मानिस पोखरादेखि कास्कीकोट दरबारसम्म पुगेका हुन् । कास्कीकोट देउरालीमा गाडी रोकेर वनको बाटो ठाडै उकालो लागेपछि १ घन्टामा आइपुग्छ, कास्कीकोट दरबार । उनीहरु दरबारलाई पछ्याउँदै आउनुका २ कारण छन् । १, हाइकिङ गर्ने र २, दरबारबारे बुझ्ने ।
कास्कीकोट देउरालीदेखि उक्लेर दरबार हुँदै डाँडैडाँडा झन्डै ९ किलोमिटर हिँडेपछि सराङकोट बजार आइपुग्छ । त्यहीबीचमा पर्छ, ऐतिकासिक कास्कीकोट दरबार, कश्यप ऋषिले ध्यान गरेको ठाउँ । कास्कीकोट दरबार यस्तो दरबार हो, जहाँबाट नेपालमा शाह वंशीय राजको शासन सुरु भएको थियो ।

दरबार परिसर पुग्नेबित्तिकै कसैले चिच्याए, पखेंटासरी हात फिँचाएर प्रकृतिको महसुस गरे । कसैले मोबाइल झिके सेल्फी खिचे । क्यामरा निकाले दरबार कैद गरे । कोही दरबारको महत्वबारे बुझ्न थाले ।

कास्कीकोट राज्यका कुलमण्डन शाहलाई नेपालका प्रथम शाहवंशीय राजा मानिन्छ । उनैका सन्तान लमजुङ, गोरखा हुँदै राजाका रुपमा फैलिएको इतिहासले देखाउँछ । दरबारदेखि अलि उतापट्टि छ, अर्को मन्दिर ।

दरबारको सिँढीमा उभिएर झन्डै ५५ जनाको टोलीबाट विष्णुप्रसाद दाहाल सबैको ध्यानाकर्षण गराउँछन् । ‘यो नेपालका प्रथम शाह राजा कुलमण्डनको दरबार हो । यिनैका सन्तान पछि लमजुङ हुँदै गोरखादेखि काठमाडौं पुगेका हुन्,’ हाइकिङ ट्रेलको विकास गरिरहेका दाहालले सबैको ध्यान खिच्छन्, ‘यहाँका राजा शक्तिशालीमात्रै थिएनन्, बुद्धिमान पनि मानिन्छन् । हामीले यो ठाउँलाई चिनाउन सकेका छैनौं ।’
केही समय डाँडाको शिरैशिर हिँडेपछि आइपुग्छ वनको बीचमा अर्को सानो चौर र मन्दिर, जहाँ कश्यप ऋषिले ध्यान गरेका थिए । यो डाँडाको सदाबहार अर्को सुन्दरता पनि छ । उत्तरतर्फ माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी लगायत लमतन्न हिमाल र दक्षिणतर्फ फेवाताल एकसाथ देख्न सकिन्छ ।

पोखराले यस्तो नजिकको प्रडक्टलाई देख्दै नदेखेको पर्यटन व्यवसायी रामु गौतमको भनाइ छ । ‘पोखरा बजारदेखि नजिकै महानगरभित्रै यस्तो ऐतिहासिक, संस्कृतिक र मनै हर्ने ठाउँ छ तर हामीलाई पत्तै छैन,’ पर्यटन व्यवसायी रामु गौतमले भने, ‘हामीले पोखरामा पर्यटकको बसाइँ छोटियो भनिरहेका छौं तर यस्तो ठाउँलाई प्रमोट गर्नै सकिरहेका छैनौं ।’

सराङकोट, कास्कीकोट, देउराली दुबैतर्फबाट आउजाउ गर्न सकिने गरी पैदल मार्ग बनाइएको छ । तर, खासै मान्छेहरु हिँडेका बाक्लो पदचिह्नहरु छैनन् ।

पश्चिमा संस्कृतिको सिको गर्दै लेकसाइड रातभर निदाउँदैन । नाच्छ, उफ्रन्छ रमाउँछ । तर, हाइकिङ संस्कृतिको भने अझै सिको गर्न नसकेको स्वयं व्यवसायी बताउँछन् । पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, ‘खानपान र रमझमको सिको गर्दा स्वास्थ्य बिगिँ्रदै गएको छ भन्ने धेरै थाहा छ । प्रकृतिसँग रमाउँदै हाइकिङ गर्न सकिने यस्तो उत्कृष्ठ गन्तव्यको मजा लिन चुकिरह्यौं ।’

सराङकोट, कास्कीकोट, ढिकुपोखरी, पञ्चासे हुँदै पुम्दीभुम्दीबाट फेवातलाई फन्को मारेर पोखरा झर्ने अर्को पदमार्ग त्यही बाटो भएर विकास हुँदैछ । ३ दिनका लागि फेवा फन्को मार्ने नयाँ पदमार्ग जान नसक्नेका लागि ३ घन्टाको मज्जाको हाइकिङ सराङकोट–कास्कीकोट हुनसक्ने ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन ९टेसा०का निवर्तमान अध्यक्ष नारायण सुवेदीले बताए ।

‘हाइकिङ जुन डाँडातिर भए पनि जानु राम्रो हो तर यो रुटमा जत्तिको अन्त मजा नआउन सक्छ,’ सुवेदीले भने, ‘यो ठाउँमा आउँदा एक साथ संस्कृति, प्रकृति र इतिहासको महसुस गर्न र ज्ञान लिन सक्निछ ।’

पोखराका सबैजसो उपत्यकाका डाँडाबाट हिमाल देखिन्छ । उपत्यकाको केही डाँडाका काखमै छ, फेवाताल । तर, यो डाँडाले बोकेको राजसंस्थाको इतिहासलाई मात्रै प्रचार गर्ने हो भने पनि धेरै पर्यटनको आकर्षण बढ्ने टेसा अध्यक्ष रामचन्द्र गिरीको बुझाइ छ । ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन ९टेसा०को नेतृत्वमा पर्यटनका क्षेत्रमा काम गर्ने ५५ जनाभन्दा बढी व्यक्ति बुधबार हाइकिङको स्वाद लिन पुगेका हुन् । हाइकिङका अधिकांश सहभागी भन्दै थिए ‘यस्तो ठाउँमा पो हाइकिङ । हामी फेरि आउनु पर्छ है ।’
यो हाइकिङ रुटलाई अझ व्यवस्थित गर्ने काम भइरहेको ट्रेलका अध्यक्ष विष्णुप्रसाद दाहालले बताए । छोटो दुरीलाई अपांगमैत्री र साइकलका लागि पनि बनाउन लागिएको उनको भनाइ थियो । साइकल ट्रेलका लागि वडाको नेतृत्वमा डोजर लगाइरहेको देखेपछि स्थानीयले सुझाव दिएका छन्, ‘डोजर नलगाउनु, पुरानै रुटलाई व्यवस्थित गर्नुहोला ।’