अष्ट्रियामा के गर्दैछन् जङ्गे र सुन्दरी

 

काठमाण्डौं, २३ जेठ । यूरोपियन मुलुक अष्ट्रियाको राजधानी भियनामा एउटा विशाल चिडियाखाना छ –सोनब्रुन चिडियाखाना । त्यही छन् जङ्गे र सुन्दरी । जङ्गे र सुन्दरी जोडी हुन्, तर उनीहरुबीच आपसी मिलाप भने छैन । यसको कारण हो –जङ्गेको स्वभाव राम्रो नहुनु ।

जङ्गे भाले गैँडाको नाम हो भने सुन्दरी पोथी गैँडाको । अब उनीहरू नेपाल कहिल्यै फर्केर आउने छैनन् । किनकि उनीहरूलाई नेपालले ‘गैँडा कूटनीति’को रूपमा कहिल्यै नफर्कने गरी अष्ट्रियालाई उपहार दिएको हो ।

भियनाको सोनब्रुन दरबार परिसरमा ७० हेक्टर क्षेत्रफलमा सोनब्रुन चिडियाखाना छ । चिडियाघरमा विभिन्न प्रजातिका जनावर छन् । जङ्गे र सुन्दरीका लागि निश्चित क्षेत्र छुट्ट्याएको छ । उनीहरूलाई हेर्न, भेट्न पुग्नेहरूले नेपालको चिनारी देख्न सक्छन् ।

त्यहाँ नेपालको झन्डा फहराई रहेको त छ नै नेपाललाई नै झल्काउने गरी बौद्ध संस्कृतिमा आधारित ध्वजाहरू पनि राखिएका छन् ।

उपराष्ट्रपति र वनमन्त्रीले भेट जङ्गे र सुन्दरीलाई

जङ्गे र सुन्दरीलाई उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भेटेका छन् । अष्ट्रियाको भ्रमणको क्रममा वैशाखको अन्तिम दिन उपराष्ट्रति पुन र वन मन्त्री बस्नेतले सोनब्रुन चिडियाखाना पुगेर जङ्गे र सुन्दरीलाई भेटे र केही खाने कुरा समेत दिए ।

१४ वर्ष अघि अष्ट्रिया पुगेका थिए जङ्गे र सुन्दरी

जङ्गे र सुन्दरी नेपालबाट अष्ट्रिया पुगेको १४ वर्ष पुगेको छ । सानोमै अष्ट्रिया पुगेका उनीहरू त्यहीँ हुर्किए र त्यहीँको भाषा, रहनसहनसँग घुलमिल बने । उनीहरू अहिले जङ्गे र सुन्दरी भनेर बोलाउँदा नजिक आउँछन् । ‘तर, जङ्गेको खराब स्वभावका कारण उनीहरू एकै ठाउँमा रहँदैनन्’, उनीहरूको रेखदेख गर्ने एक कर्मचारीले भने ।

सन् २००५ मा तत्कालीन युवराज पारस शाहले जङ्गे र सुन्दरीको जोडी अष्ट्रिया सरकारलाई उपहार दिएका थिए । नेपालबाट उपहार पाएको जोडिलाई अष्ट्रिया सरकारले चिडियाघरमा राखेको हो ।

जङ्गे र सुन्दरी दुवै टुहुरा
जङ्गे उमेरले सुन्दरी भन्दा ६ वर्षले जेठो छ । तर, उनीहरुबीच एउटा समानता छ –दुवै टुहुरा अवस्थामा भेटिए । चोरी सिकारीले जङ्गे र सुन्दरीको आमालाई मारेपछि अलपत्र परेका अवस्थामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।

सोनब्रुन चिडियाघरमा राखिएको जानकारी अनुसार चोरी सिकारीले आमालाई मारेपछि चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको वरण्डाभार जङ्गलको उत्तर पूर्वी किनारामा अवस्थित सगुन टोलबाट २०५३ सालमा ६ महिनाको टुहुरो अवस्थामा जङ्गेलाई उद्धार गरिएको हो । बाघले आक्रमण गरी सख्त घाइते बनाएको अवस्थामा ऊ भेटिएको थियो ।

सोनब्रुन चिडियाघरमा राखिएको जानकारी अनुसार चोरी सिकारीले आमालाई मारेपछि चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको वरण्डाभार जङ्गलको उत्तर पूर्वी किनारामा अवस्थित सगुन टोलबाट २०५३ सालमा ६ महिनाको टुहुरो अवस्थामा जङ्गेलाई उद्धार गरिएको हो । बाघले आक्रमण गरी सख्त घाइते बनाएको अवस्थामा ऊ भेटिएको थियो ।

सुन्दरी २०५९ कात्तिक २४ गते चितवनको साबिकको कठार गाविस नजिकको जङ्गलमा सिकारीले आमालाई मारिदिएपछि टुहरी अवस्थामा फेला परेकी थिई । उपचारपछि जङ्गल फर्काउने प्रयास सफल नभएपछि सुन्दरी सौराहामा पर्यटकहरूसँगै रमाई रहेकी थिई ।