प्रदेश ३ का मुख्यमन्त्री पौडेल डिस्चार्ज

हेटौंडा, २७ जेठ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार डिस्चार्ज हुनुभएको छ । गत १९ गते अस्पताल भर्ना हुनुभएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएको हो ।
नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उहाँको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।
अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको थियो । उहाँ अस्पताल भर्नाभएसंगै एकहप्ताका लागि सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएका थिए ।

मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषद् समेत स्थगित भएको थियो । जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडामा हुने परिषद्को बैठकमा सहभागि हुन मुख्यमन्त्री पौडेल मंगलबार हेटौंडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । परिषद बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ ।