पोखरा १७ महतगौडाको गल्छीमा बाटो स्तरोन्नति सुरु

पोखरा २७ जेठ ।

सोमबार आजबाट पोखरा १७ महतगौडाको गल्छीमा बाटो स्तरोन्नति सुरु भएको छ । जानकी आधारभूत स्कुल छेउको डाँडो काटेर बाटो स्नरोन्नति गर्दा लामतरा, दोबिल्ला, बागमारा लगायतका क्षेत्र जाने बाटो बन्द हुने भएको छ ।

रातोपैह्रा, महतगौडा, दोबिल्ला बाटो निर्माण उपभोक्ता समिति अध्यक्ष दीपक आचार्यले सोमबारबाट महतगौडाको ढिस्को काटिनसकिएसम्म बाटो बन्द हुने बताए । उनले भने, ‘यसबाट पर्ने जाने असुविधाप्रति क्षमाप्रार्थी छौं । बाटो निर्माणमा सबैको साथ रहने अपेक्षासहित वैकल्पिक उपाय र बाटो प्रयोग गर्न अनुरोध छ ।’

यो क्षेत्रमा बाटोलाई १२ मिटर बनाउने गरी १ महिनादेखि काम भइरहेको छ । महतगौडाको गल्छी साँघुरो र ठाडो हुँदा बेला बेलामा दुर्घटना र गाडी फस्ने हुँदा स्थानीयले दुःख पाएका थिए । रातोपैह्रादेखि दोबिल्लासम्मको बाटो स्तरोन्नतिमा अन्यत्र समस्या नभए पनि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा समस्या देखिएको छ ।

संग्रहालयको अर्काेतिर भीर छ भने गेटअघि बाटो साँघुरो हुँदा त्यहाँ जाने सवारीका कारण जाम हुने गरेको छ । बाटो निर्माण समितिले यसअघि भत्काएको गेट संग्रहालय व्यवस्थापनले फेरि पुरानै ठाउँबाट लगाएको छ । बाटो निर्माण समिति अध्यक्ष आचार्यले संग्रहालयले नै नियम नमान्नु उदेकलाग्दो भएको प्रतिक्रिया दिए ।