माडीको छोपिएको खजाना धनलक्ष्मी छहरो

चितवन, जेष्ठ २७। माडीको बैकुण्ठ तालका विषयमा स्थानीयका साथै छिमेकी जिल्ला र सीमावर्ती भारतीय गाउँका वासिन्दासमेत जानकार छन् ।
त्यो तालभन्दा माथि डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने धनलक्ष्मी छहराका बारेमा माडीमै बस्नेहरू पनि बेखबर छन् । झण्डै ६० मिटर उचाईबाट खस्ने निकै कम चर्चामा आएको यो छहरालाई समेटेर पर्यटन विकास गर्न माडी नगरपालिका अग्रसर भएको छ कान्तिपुरमा रमेशकुमार पौडेल लेख्छन् ।

भरतपुर माडी ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ यो ठाउँ । खरकट्टाबाट ताल रहेको जंगलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर कच्चि बाटो तयार भएको छ ।
गाडीबाट झरेपछि लगभग आधा घण्टा उकालो हिँडेर बैकुण्ठे ताल पुगिन्छ । जंगलको हरियालीको बीचमा सानो तलाउ छ । माथिबाट सानो छाँगो झरेको छ ।
जसले गर्दा ताल चित्ताकर्षक देखिन्छ । ‘माडीको यो क्षेत्रमा २०/२२ सालबाट वस्ती बस्न सुरु गरेको हो ।
यो ताल वरपर मान्छेहरू जम्मा हुने मेला भर्ने चलन त्यही समयबाट सुरु भएको हो’ माडी–८ का वडाध्यक्ष कृष्ण अधिकारीले भने । ताल वरपरको क्षेत्रमा बालचर्तुदशीका दिन शतबीउ छर्ने चलन छ ।
त्यो बेला माडीका मात्रै नभएर चितवनका विभिन्न ठाउँ र छिमेकी जिल्लाका साथै भारतीय क्षेत्रबाट पनि भक्तहरू आउने गरेको वडाध्यक्ष अधिकारी बताउँछन् । ‘शतबीउ छर्ने बेलामा निकै पहिलेदेखि मान्छेहरू यहाँ आउने गरेका हुन् ।

तर अचेल धार्मिक कारणका साथै घुमफीरका लागि पनि मान्छेहरू दिन दिनै यो ताल भएको ठाउँमा आउने गर्छन्’ वडाध्यक्ष अधिकारीले भने । तर त्यहाँभन्दा माथि रहेको धनलक्ष्मी पहरोको हेक्का कसैले राखेको थिएन । माडी–८ कान्तिपुर गाउँकी सावित्री रेग्मी घाँस दाउरा गर्न जाने गाउँले बाहेक अरुलाई त्यो छाँगोका बारेमा थाहा थिएन । ‘तालभन्दा माथि अर्को राम्रो झरना पनि छ भन्ने गाउँलेहरूले सुनाए । म आफै गएर हेँरे । हेर्दा झर्ना र ठाउँ निकै राम्रो लाग्यो । यो पर्यटकीय आकर्षणको वस्तु हुन्छ भन्ने विश्वास लिएर फर्किए’ माडी नगरपालिकाका मेयर ठाकुर ढकालले भने । बैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पुर्‍याउने गरेर काम गर्न लागेको मेयर ढकालले बताए । ‘बैकुण्ठ ताल र छहरोको बीचमा दुई खोली दोभान भन्ने सुन्दर ठाउँ छ । चमेरे गुफा छ । आकर्षक चट्टानहरू पनि छन् । यस्तो ठाउँलाई समेटेर एकीकृत योजना बन्दै छ । बैकुण्ठ ताल क्षेत्रमा पनि फनपार्क, बुद्धको मुर्ती, बोटिङ गर्न मिल्ले ताल बनाउने जस्ता योजनाहरू छन्’ वडाध्यक्ष अधिकारीले भने । बैकुण्ठ तालभन्दा तल सानो खोला छ । खोलामा ड्याम बाँधेर डुंगा सयर गर्ने ताल बनाउन लागेको उनले बताए ।

‘फनपार्कदेखि बैकुण्ठ ताल, दुई खोली दोभान र धनलक्ष्मी छहरासम्म डेढ दुई घण्टासम्म पुग्न घुम्ने मिल्ने गरेर पुर्वाधारहरू बनाउँदै छौं । सिँढीसहितका बाटोहरू बनेमा यहाँ पर्यटकहरू घुम्न मज्जाले आउने छन् भन्ने विश्वास छ’ वडाध्यक्ष अधिकारीले भने । माडी ठाउँ आकर्षक छ । तर दर्जनौं खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएको ठाउँ भएका कारण जंगली जनावरहरूले दिने दुखले माडीबासीहरू हैरान हुने गरेका छन् । चितवन निकुञ्जका बाघ, गैंडा देखाएर अन्यत्र पर्यटन फष्टाए पनि माडीमा यसबाट लाभ लिने भन्दा क्षेति बेहोर्नेहरू धेरै छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू पनि रहेका कारण माडीले पर्यटनबाट लाभ लिन सक्ने हुँदा त्यही अनुसारका योजनाहरू बनेको मेयर ठाकुर ढकालले बताए । बैकुण्ठ क्षेत्रको विकासका लागि सहरी विकास मन्त्रालयले अग्रसरता लिएको छ ।

‘हुलाकी सडकका पुलहरू बन्न थालेका छन् । बाटोहरू बन्ने क्रममा छन् । भरतपुरबाट माडी धेरै टाढा छैन । सडक राम्रो भए एक डेढ घण्टामा आउन सकिन्छ ।
यहाँ पर्यटकीय क्षेत्रहरू भएका कारण त्यसका बारेमा प्रचार गरे हामीलाई राम्रै लाभ हुने अवस्था छ’ मेयर ढकालले भने । झर्ना प्रति मान्छे निकै आकर्षित हुन्छन् । धेरैले नसुनेको जंगलभित्रै छोपिएर बसेको धनलक्ष्मी छहरो भोलि महत्वपर्ण पर्यटकीय वस्तु बन्ने उनको आशा छ ।