११ हजार नपाएपछि कामदारले लियो मालिकको ज्यान

काठमाडौं । १९ वर्षअघि भक्तपुरको कटुन्जेमा भएको विजयश्वरी प्रजापतिको हत्यामा घरमा काम गर्न राखिएका घरेलु कामदार नै संलग्न भएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १९ वर्षपछि हत्यामा संलग्न पर्सा सुवर्णपुरका देवीरमण अधिकारीलाई पक्राउ गरेर सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

कर्मचारी हुँदै कामदारका रूपमा घरमा ल्याइएका अधिकारीले करिब सात महिना काम गरेपछि आफूलाई आवश्यक परेको भन्दै करिब ११ हजार रुपैयाँ मागेका थिए । तर, विजयश्वरीले उल्टै आफ्नो ३ हजार चोरी भएको भन्दै अधिकारीमाथि नै शंका गर्न थालिन् ।

त्यसपछि अधिकारीले माग गरेको सो रकम तत्कालै दिन नसक्ने बताएपछि अधिकारीले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसपी दीपक रेग्मीले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।