प्राकृतिक साधनको अत्यधिक दोहन

चेतनशील व्यक्तिहरु बसोबास गर्ने जिल्लाको रुपमा चितवनलाई लिने गरिएको छ । देशभरीका सबै जिल्लाका मानिसहरु चितवनमा बसोबास गर्ने भएकाले पनि यसलाई ७६औँ जिल्ला भनिने गरिएकोमा अब ७८औँ जिल्ला भन्ने गरिएको छ । अन्य जिल्लामा भन्दा चितवनमा भएका गतिविधिले राष्ट्रिय रुपमा प्रभाव पार्ने क्षमता राख्छ । राजनीतिक हिसाबले समेत चितवन अन्य जिल्लाभन्दा अगाडि रहेको छ । चितवनलाई प्राकृतिक स्रोत र साधनले धनी जिल्लाको रुपमा चिनिन्छ । यहाँ तराईका समथर फाँटदेखि मनोमहक तथा ऐतिहासिक पहाडहरु समेत रहेका छन् । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण चितवनमा पछिल्लो समय नदीजन्य पदार्थको उत्खनन् अत्यधिक हुने गरेको पाइएको छ । स्थानीय तहले ठेक्का लगाएर ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने गरेको भएपनि आवश्यकता भन्दा बढी खनेको भेटिएको छ ।
नारायणी नदीसहित चितवनका अन्य खोलाहरुबाट समेत नदीजन्य पदार्थहरु उत्खनन् भइरहेका छन् । नदीजन्य पदार्थ उत्खनन् गर्नेबारे मापदण्ड तयार पारिएको भएपनि बैशाख र जेठ महिनामा नदीजन्य पदार्थको उत्खनन् धेरै हुने गरेको छ । असारदेखि तीन महिना नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाइने भएका कारण पनि बैशाख र जेठमा यसको दोहन अत्यधिक बढेको हो । नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्कापट्टा गरिएपनि नियमक निकायले नियमित अनुगमन नगर्दा लापरबाही बढेको हो । स्थानीय तहहरुले नदीजन्य पदार्थको उत्खनन् भएको स्थानमा नियमित अनुगमन गर्नुपर्ने भएपनि यसबारे नियमक निकाय मौन बसेका छन् । सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको खण्डमा नदीजन्य पदार्थको अत्यधिक दोहन रोकिने थियो ।
पालिकाहरु, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा नागरिक समाजले नदीजन्य पदार्थ उत्खनन् भएको स्थानमा नियमित अनुगमन गर्नुपर्ने जरुरी छ । मापदण्ड विपरित रुपमा उत्खनन् गरिएको पाइएमा स्थानीय प्रहरी प्रशासनले आवश्यक कारबाही गर्दै प्राकृतिक साधनको दोहनलाई रोक्नु आवश्यक छ । अनावश्यक रुपमा प्राकृतिक साधनको दोहान भइरहेको अवस्थामा भविष्यमा हाम्रा सन्ततीलाई हामीले यी साधनहरु हस्तान्तरण गर्न सक्दैनौँ । अवैज्ञानिक रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् हुँदा बाढी तथा पहिरो जाने सम्भावना समेत बढेर आउँछ । प्राकृतिक सम्पत्ति संरक्षण गर्नु हामी सबै नागरिकको दायित्व समेत हो । यसबारेमा बेलैमा सचेत हुन सकिएन भने सिंगो जिल्ला नै मरुभूमिकरण हुने खतरा समेत रहेको छ ।