भरतपुरको रंगशाला निर्माणका लागि सरकारको सहयोग हुन्छः अध्यक्ष दाहाल (भिडियो सहित)

चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गराउनका लागि सरकारले नीति तथा कार्यक्रम मार्फत नै व्यवस्था गरेकाले चितवनमा बन्ने रंगशालामा सरकारको सहयोग हुने दाहालले बताएका हुन् । आज चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालले जनस्तरबाट संकलन भएको रकमले नपुगेको अवस्थामा सरकारकै सहयोगबाट भएपनि रंगशाला निर्माण गरिने बताए । ठूला कामहरु गर्दा सानातिना समस्याहरु आउने भएपनि कत्ति पनि विचलित नभइ त्यस्ता समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्ने दाहालले बताए ।

पछिल्लो समय आवश्यक तयारी नगरी विधेयक आउँदा विरोध भइरहेको दाहालले बताए । आगामी दिनमा कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने भएकाले धेरै विरोध गरिरहन नपर्ने दाहालको भनाइ छ । सदनमा प्रस्तुत भएको मिडिया काउन्सिल विधेयक समेत परिमार्जन हुनेमा विश्वस्त हुन दाहालले आग्रह गरे ।
‘जुन गृहकार्य भएर विधेयक आउनुपर्ने थियो, त्यो नभएको देखियो’ दाहालले भने, –‘केही कमी रहेको देखियो त्यसमा सरकार र पार्टी सतर्क भएको छ । आगामी दिनमा यस्ता गृहकार्यलाई प्रयाप्त छलफल गरेर सहमती ल्याउनेतर्फ हामी अगाडि बढ्नेछौँ ।’ केही नमिलेका विषय भए प्रधानमन्त्री फर्किए लगत्तै सरसल्लाहमा गर्न सकिने दाहालको भनाइ छ ।
सरकारको आलोपालको विषयमा जे सहमति छ सोही अनुसार हुने भन्दै पत्रकारहरुलाई यो पुरानै विषयका बारेमा धेरै सोधखोज नगर्न आग्रह गरे । छिट्टैनै पार्टी एकतालाई तल्लो तहसम्म टुङ्ग्याउने गरी काम अगाडि बढिरहेकोले प्रधानमन्त्री विदेश भ्रमणबाट फर्के लगत्तै प्याकेजमै घोषणा गर्ने अध्यक्ष दाहालको भनाइ थियो ।