नक्कली सर्टिफिकेट बनाउने दुईजना चितवनमा पक्राउ

चितवन ६ असार । नक्कली स्कुल तथा क्याम्पसको नक्कली सर्टिफिकेट बनाएको आरोपमा चितवनमा दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं ६ बस्ने १९ वर्षका बेद प्रसाद पराजुली र वडा नं ६ का ३३ वर्षका सुदिप पौडेल पक्राउ परेका चितवन प्रहरी प्रमुख एसपी दान बाहादुर मल्लले जानकारी दिए ।

भरतपुरको वडा नं ७ बुद्धचोकमा संचालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

स्कुल तथा क्याम्पसहरुको नक्कली लब्धाङक पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोली सो स्थानमा पुगेका थिए ।
उक्त नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने कम्प्युटर र ३ वटा प्रिन्टर समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकादुवैजनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखित सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान गरिने चितवन प्रहरीले जनाएको छ ।