विषादी परीक्षण स्थगित निर्णय खारेज गर्न नेबिसंघको ज्ञापन

काठमाण्डौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न दबाब दिएको छ ।

नेविसंघले मंगलबार प्रमुख जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ ।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने सो निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिए ।

त्यसअवसरमा नेविसंघले सरकारले भारतको दवावमा सो निर्णय लिएको दावी गर्दै व्यंग्य स्वरुप प्रधानमन्त्री ओलीलाई विषयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ ।

नेविसंघले भारतबाट आयात हुने तरकारी र फलफूलको विष परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउँदै आएको छ । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यक परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषादी परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा उनको आपत्ति छ । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै नेविसंघले देशभर सडक आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।