रत्ननगरमा नगर स्वास्थ्य केन्द्र थपिदै, वडा नं १४ बाट सेवा सुरु

रत्ननगर  : रत्ननगर नगरपालिकाले वडा नं १४ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । वडा नं १४,१५ र १६ अन्तर्गत पर्ने पिठुवालाई लक्षित गरी सो वडा अन्तर्गत डुम्रीचोकमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मेयर नारायण वनले स्वास्थ्य सेवाको पहुँचलाई नगरवासीको घरघरमा पु¥याउन नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताए । स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार रहेको भन्दै उनले यो अधिकारको भरपुर उपयोगको लागि स्वास्थ्य केन्द्र कोसेढुंगा सावित हुने बताए । स्वास्थ्य सेवालाई सहज बनाउन नगरपालिकाले घरघरमै उपचार गर्ने कामको सुरुवात गरेको भन्दै उनले आगामी बर्षबाट यसलाई अझ प्रभावकारी बनाउने बताए । वडाध्यक्ष हरिकुमार श्रेष्ठले वडाबासीको माग र चाहना बमोजिम नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए । उनले वडाबासीलाई केन्द्रविन्दु पर्ने गरी डुम्रीचोकमा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए । सो नगर स्वास्थ्य केन्द्रको नयाँ भवन डुम्मीचोकमा निर्माण भइरहेको छ । केही समयका लागि स्थानीय क्लवको भवनबाट केन्द्र सञ्चालनमा ल्याएको भएपछि छिट्टै आफनै भवनमा सेवा सुरु हुने वडाध्यक्ष श्रेष्ठले बताए । स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले नागरिकलाई प्रदान गर्ने सम्पूर्ण स्वस्थ्य सेवा प्रदान गर्ने योजना रहेको उनले बताए । केन्द्रमा अहेब,अनमी लगायतका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने छ । स्थानीय तहको निर्वाचन पछि गरपालिकाले पहिलो पटक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको वडाध्यक्ष श्रेष्ठले बताए । निर्वाचन हुनु भन्दा पहिला देखि रत्ननगरमा ३ वटा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका थिए । उद्घाटन कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष हुमनाथ लामिछाने,नगर प्रबक्ता राजेन्द्र हमाल, स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने,जागृती युवा क्लवका अध्यक्ष नुमनाथ रेग्मी,पिठुवा रेडक्रस समन्वय समितिकी प्रतिनिधि गीता देवकोटा,नेकपाका बासु लामिछाने,नेपाली काँग्रेसका कमलनाथ अधिकारी,र्शिजनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रिता अधिकारी लगायतले मन्तव्य राखेका थिए । वडा सदस्य गीता दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम वडा सचिव केशवराज शर्माले सञ्चालन गरेका थिए ।