भौतिक पूर्वाधार मन्त्री महासेठले पत्रकारलाई भनेः ‘क्यामरा बन्द गर्नुस्’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चारमाध्यमहरूलाई रोक लगाएका छन् ।

आइतबार मन्त्रालयमा नेपाली कांग्रेस नुवाकोटले अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो । सो ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई मन्त्री महासेठले भिडियो खिच्न रोक लगाएका हुन् ।

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न भने । ‘यसरी भिडियो लिन हुन्न’ -उनले भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न ।’

कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाएका हुन् । मन्त्री महासेठले सञ्चारमाध्यमहरूलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहेनन् ।