सडक डिभिजन दमौलीबाट १ लाख ७५ हजार रुपैयाँ घुससहित २ जना पक्राउ

उज्वल पाैडेल 

तनहुँ : सडक डिभिजन कार्यालय दमौलीबबाट घुस लिने जना पक्राउ परेका छन् । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ परेको हो । कम्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएका थिए ।

सडकको भुक्तानी दिने सन्दर्भमा उनीहरुले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली कार्यालय पुगेको थियो,’ अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले भने, ‘उनीहरुलाई परिसरबाटै पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको छ ।’