भरतपुर महानगर : फोहोर गर्नेलाई ५० हजारसम्म जरिमाना, सूचना दिनेलाई पुरस्कार

चितवन : चितवनको भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्यता बिगार्नेलाई कडा कारबाही प्रक्रिया सुरु गरेको छ। सौन्दर्यता बिगार्ने कार्यलाई नियन्त्रण गर्न विभिन्न सचेतनामुलक कार्यक्रमसँगै कारबाही पनि सुरु गरेको छ।

महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरको सौन्दर्यता बिगार्नेलाई आर्थिक ऐन २०७६ बमोजिम जरिवाना गरिने छ। सौन्दर्यता बिगार्ने कार्य नियन्त्रण गर्नको लागि आकस्मिक निरीक्षण टोलीसमेत खटाइएको छ।

नियमविपरीत क्रियाकलाप गरेको पाइएमा न्यूनतम १ हजारदेखि अधिकतम ५० हजारसम्म जरिमाना तोकिएको छ। पहिलो पटक, दोस्रो पटक र तेस्रो पटक गरी जरिमानाको रकमलाई पनि क्रमस बढाइएको छ।

जथाभावी फोहोर फ्याँक्ने, थुपार्ने, फुटपाथमा पसल राख्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, निषेधित क्षेत्रमा ठेला राख्ने, अनावश्यक हर्न बजाउने, तोकिएभन्दा बाहेकको क्षेत्रमा अनुमति नलिइ विज्ञापन सामग्री राख्ने/टाँस्ने, गाईवस्तु छाडा छाड्ने, खुल्ला रूपमा प्लाष्टिकजन्य पदार्थ बाल्नेलगायतका कार्यहरू नगर्न महानगरले सबैमा अपिल गरेको छ। यदि यस्ता कार्य गरेको फेला परेमा सौन्दर्यता बिगारेको ठहर गरी कारबाही प्रक्रिया थालिने महानगरले चेतावनी दिएको छ।

‘मध्य नेपालको सुन्दर शहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ बनाउने दीर्घकालीन सोच पूरा गर्न यस्तो अभियान थालिएको महानगरको भनाइ छ। सूचना दिनेलाई पुरस्कार फोहोर फालेको देखिए अथवा महानगरको सौन्दर्य बिगार्ने क्रियाकलाम गरेको देखिए महानगरमा खबर गर्न पनि महानगरबासीलाई आग्रह गरेको छ। सूचना दिनेलाई महानगरले पुरस्कारको व्यवस्था पनि गरेको छ।