पत्रकारलाई महासंघका पूर्व अध्यक्षको सुझाव : क्षमता अभिवृद्धिमा ध्यान दिनुस्

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व सभापति किशोर नेपालले पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् ।
सधैँ न्यूनतम पारिश्रमिकको कुरामा अल्झिनुभन्दा पनि आफ्नो क्षमता अनुसार पारिश्रमिक माग्न सक्ने खुबी पत्रकारमा हुनुपर्ने नेपालको भनाइ थियो । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ चितवनको संयोजनमा चितवनको भरतपुरमा आज आयोजित कार्यक्रममा पूर्व अध्यक्ष नेपालले समितिको कुरा सरकारले नसुन्ने बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ५÷६ जना अध्यक्षहरु परिवर्तन भएपनि पत्रकारको समस्या जस्ताको त्यस्तै रहेको उल्लेख गर्दै नेपालले पत्रकारहरुलाई क्षमता विकासमा ध्यान दिन आग्रह गरे ।
सो कार्यक्रममा चितवनका पत्रकारहरुले नियुक्ति पत्र विना नै थोरै सेवा सुविधामा काम गर्नुपरेको, समयमा तलब नपाएको गुनासो गरेका थिए । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले समितिले तोकेको पारिश्रमिक सबै श्रमजीविले पाउनुपर्ने बताए । नेपालका सञ्चार माध्यममा पहिलेको भन्दा धेरै सुधार भएको उल्लेख गर्दै श्रमजीविले पारिश्रमिक पाउन् भन्नकै लागि सञ्चार गृह नविकरण गर्दा बैंक स्टेटमेन्ट अनिवार्य गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, केन्द्रीय सदस्य सिर्जना अर्याललगायतले मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।