गैंडा व्यवस्थापनका लागि घाँसेमैदान र पोखरी बनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

चितवन :  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा घाँसेमैदान र पोखरी निर्माणपछि गैंडाको संख्या बढेसँगै यसको आहारा र बासस्थानलाई ध्यान दिन थालिको छ । केही वर्षअघिदेखि अधिकांश गंैडा सुरक्षित बासस्थान र आहाराको लागि निकुञ्जको पश्चिम सेक्टरतर्फ गएपछि निकुञ्जले यसको व्यवस्थापन गर्न पूर्वी सेक्टरलाई पनि प्राथमिकता दिएको हो ।यस आर्थिक वर्षमा निकुञ्जले गैंडाको लागि पूर्वी सेक्टरमा घाँसे मैदान र पानी पोखरी व्यवस्थापनको काम अघि बढाउन लागिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । निकुञ्जमा पानीका श्रोत सुक्दै गएपछि गत आर्थिक वर्षमा निकुञ्जभित्र ७० वटा पोखरी निर्माण तथा मर्मत गरिएका थिए । यसकै निरन्तरता स्वरुप यस वर्ष पूर्वी सेक्टरमा थप पोखरी तथा घाँसे मैदान व्यवस्थापन गरिन लागेको घिमिरेले बताए ।

पछिल्लो समय पश्चिम चितवनका अधिकांश सामुदायिक वनले गैंडा संरक्षणको लागि उचित बासस्थान, घाँसेमैदान र पोखरी निर्माण कार्यलाई अघि बढाएका कारण सो क्षेत्रमा गैंडाको संख्या बढ्दै गएको छ । तर गैंडाको आफ्नो क्षेत्र तथा क्षमता भन्दाबढी गैंडा एउटै स्थानमा रहँदा गैंडा मानव वस्तीमा निस्कने, चोरी शिकारी बढ्न सक्ने र द्वन्द्व निम्तिने भएकोले पूर्वी सेक्टरमा बासस्थान, घाँसेमैदान तथा पोखरी निर्माण गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ ।

निकुञ्जले अर्नाको संख्या वृद्धि तथा थप अर्ना स्थानान्तरण गरी ल्याउनका लागि पनि घाँसे मैदान व्यवस्थापनमा जोड दिएको प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले जानकारी दिए । हाल अर्नाको निम्ति छुट्याइएको ३० हेक्टर क्षेत्रफलमा इन्क्लोजरमा घाँसे मैदानलाई विस्तार गर्ने कार्यक्रम रहेको ढकालले बताए ।निकुञ्जको पूर्वी सेक्टरमा घाँसे मैदान व्यवस्थापन गरी बासस्थान सुनिश्चित गर्न सके गैंडाको आन्तरिक स्थानान्तरण सहज हुनुको साथै अन्य वन्यजन्तुको लागि समेत प्रभावकारी हुने उनको भनाइ छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ५ गैंडा छन् ।ई अदालत पुर्याइयो