Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

जनकपुरधाम : मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। मधेश प्रदेशबाट रिक्त चार सिटमा आज बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। मतदान दिउँसो ३ बजेसम्म महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा चल्ने व्यवस्था गरिएको छ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रधानका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार महिला, दलित, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक समूह गरी चार सिटमा मतदान हुँदैछ।

मधेश प्रदेशमा कुल ११ जनाले उम्मेदवारी दिएका छन्। जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि मतपत्रमा तिनको नाम कायम छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चारवटै समूहमा उम्मेदवारी दिएको छ। जसपा नेपालले ३, नेपाली कांग्रेसले २, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले १–१ सिटमा उम्मेदवारी दिएका छन्।

महिला समूहमा जसपा नेपालकी चन्द्रकलादेवी साह, नेकपा एमालेकी रेखाकुमारी झा र नेकपाकी शमीकुमारी अग्रवाल उम्मेदवार छन्।
दलित समूहमा जसपा नेपालकी चमेलीदेवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार रहेका छन्।
अपांगता वा अल्पसंख्यक समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रन्जित कर्ण र जसपा नेपालका शैलेशकुमार चौधरी प्रतिस्पर्धा गर्दैछन्।
अन्य समूहमा लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन्।

मधेश प्रदेशमा मतदानका लागि कुल ३६४ मतदाता छन्, जसमा १०० प्रदेशसभा सदस्य र २६४ स्थानीय तहका प्रमुख तथा उपप्रधान सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij