Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

ओली र लेखकका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

ओली र लेखकका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेकी छन्।

त्यसैगरी पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुवैजनाको रिट निवेदन दर्ता भएको र सोमबारका लागि पेसी तोकिएको हो। “एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको छ‚” उनले भने।

जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा सिधै पक्राउ गरेर थुनामा राख्नु गैरकानुनी भएकाले थुनामुक्त गर्न माग गरिएको छ। २३ र २४ भदौको जेन-जी आन्दोलनको मानवीय र भौतिक क्षतिको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको थियो।

आयोगले सुशीला कार्की नेतृत्वको सरकारलाई प्रतिवेदन बुझाएको थियो। सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक गरेको छैन। तर, आयोगले दिएको प्रतिवेदनका आधारमा शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली त्रिवि शिक्षण अस्पतालको रेड जोनमा उपचाररत छन्। लेखकलाई नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको छ। दुवैलाई सरकारले काठमाडौं जिल्ला अदालतमा पेस गरी १० दिनका लागि अनुसन्धानका गर्न म्याद थपको लागि निवेदन दिएको छ। त्यसमा आदेश आउन बाँकी छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij