Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

इनिसा मृत्यु प्रकरण: ३ नाबालकका आफन्त आन्दोलनमा

इनिसा मृत्यु प्रकरण: ३ नाबालकका आफन्त आन्दोलनमा

 सुर्खेत : बलात्कारपछि हत्या भएको भनिएकी १६ वर्षे इनिसा विकको घटनाले नयाँ मोड लिएको छ । 

यसअघि प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । तर, आइतबार सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार भएको भन्दै चारै जना नाबालकहरूलाई समेत मुद्दा चलाउने गरी अभियोग पत्र जिल्ला अदालत बुझायो ।

अहिले पनि इनिसाका परिवार तथा आफन्त र अधिकारकर्मीहरूले जिल्ला अदालतको गेट अगाडी न्यायका लागि भन्दै दबाब दिइरहेका छन् । यसैबिच सोमबार तीन जना नाबालकका आफन्तहरूले पनि निर्दोषलाई फसाउन खोजिएको भन्दै आन्दोलन गरेका छन् । उनीहरूले ‘निर्दोषलाई होइन, दोषीलाई सजाय देऊ, न्याय बेचिने होइन, देखिने बनाऊ’ भन्दै वीरेन्द्रनगरमा आन्दोलन सुरु गरेका हुन् ।

इनिसा घटना प्रकरणमा गरिएको हरेक अनुसन्धानमा सामूहिक बलात्कार नभएको रिपोर्ट आउदा सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार भन्दै मुद्दा अभियोजन गरी निर्दाेषलाई फसाउन खोजिएको आन्दोलनरत पक्षको भनाइ छ । 

उनीहरू आन्दोलन गर्दै सरकारी वकिल कार्यालय अगाडि धर्नामा बसेका छन् । उनीहरूले निर्दोषलाई सजाय नभई न्याय चाहिने दाबी गरिरहेका छन् । साथै उनीहरूले न्यायालयलाई प्रभावित गर्नेहरूलाई कारबाहीको माग गरेका छन् । आन्दोलनमा सहभागी एक आफन्तले भने, ‘आन्दोलन गर्न हामी बाध्य भयौँ, हामी न्यायालयप्रति विश्वास गरेर बसेका थियौँ, तर घटनामा उद्धारका लागि गएका अन्य नाबालकहरूलाई फसाउन खोजियो ।’ उनीहरू मानवताका नाताले उद्धारका लागि त्यहाँ गएको उनको भनाइ छ ।

‘के भयो भनेर उनीहरू मानवताको नाताले बचाउन त्यहाँ गएका थिए, घटनामा मुछिए,’ उनले थपे, ‘अनुसन्धानका लागि प्रहरीदेखि सीआईबीले निकै गहिरो तरिकाले अनुसन्धान गरे, निष्कर्ष निकालेर सामूहिक बलात्कार नभएको भनेर सरकारी वकिल कहाँ पठायो ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij