Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सञ्चारमन्त्री र विश्व बैंकका निर्देशकबिच भेटवार्ता : डिजिटल ट्रान्सफरमेसन प्रोजेक्टलाई तीव्रता दिइने

सञ्चारमन्त्री र विश्व बैंकका निर्देशकबिच भेटवार्ता : डिजिटल ट्रान्सफरमेसन प्रोजेक्टलाई तीव्रता दिइने

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका उच्चस्तरीय प्रतिनिधिहरूबिच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

बुधबार भएको उक्त भेटमा विश्व बैंकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेनसहितको टोलीले मन्त्री तिमिल्सिनालाई बधाई दिँदै आपसी सहयोग र आगामी सहकार्यका विषयमा छलफल गरेका छन्। 

भेटका क्रममा नेपालको सूचना प्रविधि क्षेत्रको विकास र डिजिटल रूपान्तरणका लागि विश्व बैंकले गरिरहेको सहयोग र आगामी योजनाका बारेमा विस्तृत कुराकानी भएको छ। विश्व बैंकका निर्देशक सिस्लेनले नेपालमा कार्यान्वयनको चरणमा रहेको 'नेपाल: डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट' मा सरकारको प्राथमिकताका बारेमा विशेष चासो व्यक्त गरेका छन्। 

उनले यो परियोजनाले सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूचीलाई सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। विश्व बैंकले नेपालमा सूचना प्रविधिको पहुँच विस्तार, डाटा व्यवस्थापन, मिडिया साक्षरता र शासकीय सुधार जस्ता क्षेत्रमा सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको जानकारी समेत दिएको छ।भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विश्व बैंकले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै 'नेपाल: डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट' को कार्यान्वयनलाई तीव्रता दिइने स्पष्ट पारेका छन्।

नयाँ सरकार गठन भएपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहलाई नतिजामुखी बनाउन काम सुरु भइसकेको भन्दै मन्त्री तिमिल्सिनाले विगतका कमजोरीहरू सुधारेर फरक ढङ्गले अघि बढ्ने बताए। विभिन्न योजनाहरूमा देखिएका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको र नागरिकले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। उक्त भेटघाटमा मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख आदेश खड्का, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू र विश्व बैंकका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij