Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुकुम्बासी हटाउने निर्णयमा हर्क साम्पाङ आक्रामक, बालेनको राजीनामा माग

सुकुम्बासी हटाउने निर्णयमा हर्क साम्पाङ आक्रामक, बालेनको राजीनामा माग

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी बस्ति खाली गराएको विषयमा निरन्तर सरकारको आलोचना गरिरहेका छन् भने नेपाली सेना र नेपाल प्रहरीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

 

साम्पाङले सामाजिक सञ्जालमा निरन्तर बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी बस्ति खाली गराएको विषयको आलोचना गर्दै बालेनको राजीनामा मागिरहेका हुन् । उनले पछिल्लो पटक विहिबार रास्वपा सभापति रवि लामिछानेलाई पनि निशाना बनाएका छन् । उनले रवि लामिछाने सुकुमबासीको पक्षमा नबोलेको देख्दा यो निर्णय रास्वपाकै रहेछ भन्दै गरिब जनतालाई चिसो भुईँमा खुल्ला आकाश मुनि झरीमा रुज्न बाध्य बनाएको उल्लेख गरेका छन् । साथै उनले जनताले कस्तालाई चुने त्यो देखिएको समेत बताएका छन् ।

 

साम्पाङले त्यसअघि लेखेका छन्- 'राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासबिहिन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनु पर्छ ! मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन !' साथै उनले बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो हुने भन्दै गरीबलाई सडकमा पुराउने सरकारको औचित्य सकिएको बताएका छन् । सामाजिक सञ्जालमा साम्पाङले प्रहरीलाई समेत प्रश्न सोधेका छन् । उनले प्रहरी दाजुभाइ दिदीबैनी सुकुम्बासी बस्ती भत्काउनेलाई साथ दिंदा तपाइँको आत्मा खुसी छ त ? भन्दै प्रश्न गरेका हुन् ।

 

उनले प्रहरीलाई आइन्दा गरीबको बास खोस्ने पापको भागीदार नबन्न समेत सुझाव दिएका छन् । यसअघि साम्पाङले सामाजिक सञ्जालबाटै नेपाली सेनाले सुकुम्बासीको लगत लिएको विषय उठान गरेपछि सेनाले बुधबार स्पष्टीकरण नै दिनुपरेको थियो । उनले सेना प्रहरीको काम सुकुम्बासीको लगत लिने नभएको भन्दै लगत विवरण नदिन देशभरका स्थानीय तहलाई उनले आग्रह गरेका थिए । नेपाली सेनाले भने विपद व्यवस्थापन गर्न त्यस्तो लगत लिएको स्पष्टीकरण दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij