चितवन : नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख हिमालय कुमार श्रेष्ठ ले नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयमा आयोजित कार्यक्रममा एआईजी श्रेष्ठसँगै भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख राम कुमार चौधरी को पनि विशेष उपस्थिति रहेको थियो। निरीक्षणका क्रममा विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्थाबारे विस्तृत जानकारी लिइएको थियो।
कार्यक्रमअन्तर्गत कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूसँग अन्तरक्रिया गर्दै एआईजी श्रेष्ठले अभिभावकहरूका गुनासा, सुझाव तथा जिज्ञासाहरू सुन्नुका साथै विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन आवश्यक प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा प्रहरी कर्मचारीहरूसँगको छलफलमा उहाँले गुणस्तरीय शिक्षा, अनुशासन, सेवा प्रवाह तथा विद्यालय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभएको विद्यालयले जनाएको छ।
निरीक्षणका क्रममा विद्यालयका विभिन्न शाखा, कक्षाकोठा, प्रशासनिक इकाइ, भवन तथा भौतिक पूर्वाधारहरूको अवलोकन गरिएको थियो। एआईजी श्रेष्ठले विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकता दिँदै आवश्यक सुधार, विस्तार र व्यवस्थापनका विषयमा सुझाव तथा निर्देशन प्रदान गर्नुभएको छ। नेपाल प्रहरीद्वारा सञ्चालित उक्त विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण तथा पूर्वाधार विकासलाई थप सुदृढ बनाउने उद्देश्यले निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।