मकवानपुर : छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किँदै गरेका यात्रुहरू सवार ईभी गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको खुलेको छ । दुर्घटनामा परी घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का मुकेश यादवले आफूहरु दुई वटा गाडीमा गाउँ फर्किँदै गरेको र पहिलो गाडी दुर्घटनामा परेको बताए । पछाडि रहेको अर्को गाडीमा सवार रहेकाहरुले प्रहरीलाई दुर्घटनाबारे जानकारी गराएका थिए । दुर्घटनामा परेका सबै फलफूल व्यापारीका परिवार भएको बताइएको छ ।
यादवले छठ मनाउन गाउँ फर्कने क्रममा आफूहरूसहित १४ जना उक्त दुर्घटना भएको गाडीमा सवार रहेको बताए ।हेटौँडा अस्पतालमा उपचारका क्रममा रहेका मुकेशका अनुसार उनीहरू ललितपुरको टिकाथलीबाट छठ मनाउन गाउँ जान ईभी गाडी बुक गरेर राति करिब २ बजे हिँडेका थिए । गाडीमा सवार अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताए । आफ्नै परिवारका सदस्य नभए पनि गाउँका छिमेकीहरूसँगै यात्रा गरिरहेको उनको भनाइ छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान उनीहरु सवार ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटनामा घाइते भएका ३ पुरुष र २ बालकको उद्धार गरिएको थियो । घाइतेमध्ये तीन जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । जसमा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादवसहित ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव छन् ।मुकेशको टाउको र ढाडमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ । सक्षमको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ । सुदनको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको उक्त ईभी सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij