Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

महेशको उम्दा अभिनयले उचालिएको 'लाज शरणम्', धुर्मुसको झुर पात्रले माटो बनायो

महेशको उम्दा अभिनयले उचालिएको 'लाज शरणम्', धुर्मुसको झुर पात्रले माटो बनायो

टेलिसिरियल र फिचर फिल्म झट्ट हेर्दा एकै विधा हुन् भन्ने लाग्न नि सक्छ। तर त्यो भ्रम मात्र हो 'लाज शरणम्' यस्तै भ्रमबाट जन्मेको फिल्म हो। टेलिसिरियल र फिचर फिल्म एउटै हुन् भन्ने भ्रमकै भरमा कुमार कट्टेलले 'लाज शरणम्' निर्देशन गरे, र आफ्नो डेब्यु फिल्ममै कर्णालीको एक सुन्दर कथालाई तुहाइदिए।

एकातिर सुन तस्करीको कथा, अर्कोतिर कर्णालीको व्यथा। दुवै फरक-फरक फिल्म बन्न सक्ने कथानक हुन्। सक्षम निर्देशकले दुवै कथालाई बलियोसँग सँगै अगाडि लैजान पनि सक्छन्। 'लाज शरणम्' मा यी दुवै कथालाई समेट्ने प्रयास गरियो, तर आपसमा जोड्न सकेनन् निर्देशकले।

निर्देशकले दुवै कथालाई एउटै बोतलमा घोलेर 'मदिरा र दूधको मिश्रण' बनाए। अनि नतिजा: फिल्मको स्वाद न दूध जस्तो भयो, न मदिरा जस्तो। फिल्म लाज शरणम् यसरी नै अलपत्र पर्यो। फिल्मको मुलकथा कर्णालीबाट चुनाव जितेर मन्त्री बनेका चन्द्रबहादुर (मुकुन्द श्रेष्ठ) र सुन तस्कर सोनालाल (सीताराम कट्टेल) बीचको मिलेमतोमा केन्द्रित छ।

एकातिर कुपोषणका कारण बालबालिकाको अकाल मृत्युको दृश्य छ, अर्कोतिर डाँडामा मन्त्री भ्यु टावरको शिलान्यास गर्न जान्छन्। उपचारका लागि अस्पताल पुग्ने बाटो नहुँदा बालबालिकाले अकाल मृत्यु बेहोरिरहेका छन्, अर्कोतिर नेता राज्य कोषको खर्चमा हेलिकप्टरको सयरमा मस्त छन्। कर्णालीको यस्तै अवस्था समेटिएको छ फिल्ममा।

कुपोषणले सन्तान गुमाएका सन्देश (महेश त्रिपाठी) को मनको बदला भाव, शव राख्ने बाकसमा सुन राखेर तस्करी गर्न नहिच्किचाउने तस्कर उसका सहयोगी मन्त्री, दाइको शवको साटो सुन आउँदा लोभिने भाइ लगायतका पात्रमार्फत निर्देशकले फिल्म अगाडि बढाएका छन्। हराएको सुन खोजीमा खटिएको तस्कर टोली अनि बदलाको राप बोकेर हिँडेका बाबु। यीमध्ये को सफल हुन्छन्? फिल्मको केन्द्र यही हो।

यो फिल्मको निर्देशनदेखि निर्माण र अभिनयमा टेलिसिरियल ‘सक्किगोनी’ टिम संलग्न छन्। टेलिसिरियलमा लामो अवधिसम्म कथा देखाउन सकिने, पात्रहरूको चरित्र परिवर्तन गर्न सकिने र धेरै सब-प्लट र पात्रहरू समावेश गर्न सकिने सुविधा हुन्छ। सक्किगोनीका पात्रहरूले यस्तै गर्दै आएका छन्।

तर फिचर फिल्ममा कथा र पात्रको विकास सीमित र विस्तृत हुनुपर्छ - कथानक टुक्र्याउने छुट हुँदैन, पात्रको विकासक्रम पूर्ण हुनुपर्छ। निर्देशक कट्टेलले टेलिफिल्म र फिल्मबीचको यही भिन्नता बुझ्न नसक्दा 'लाज शरणम्' कमजोर र दिक्कलाग्दो बन्यो। टेलिसिरियलको दुई भाग जोडे जस्तै सुन तस्करीको एक भाग अनि कर्णालीको अर्को भाग जोडेर फिल्म बनाउँदा फिल्मको मूल मर्म नै सक्कियो।

फिल्मको सरप्राइज कर्णालीका मनमोहक दृश्य र महेश त्रिपाठीको अभिनय हो। अर्ग्यानिक अभिनयको बलमा उनले फिल्मलाई जुरुक्क बोकेका छन्। तर महेशको अभिनयले फिल्मलाई जति बलियो बनायो, त्यति नै कमजोर बनायो सीताराम कट्टेलको पात्रले।

धुर्मुसको रूपमा परिचित सितारामको पात्र निर्माणदेखि बोल्ने शैली र अनावश्यक स्क्रिन टाइमले फिल्मलाई कमजोर मात्र बनायो। जबजब महेशको अभिनयले दर्शक भावुक हुन्छन् अनि सोनालाल बनेका सीताराम अस्पष्ट लवजकासाथ पर्दामा आउँछन् र फिल्मलाई माटो बनाइदिन्छन्।

सोनालालले इरिटेट बनाइरहेको बेलामा थपिन्छन् नेता चन्द्र बहादुरको चरित्रमा रहेका मुकुन्द श्रेष्ठ। यी दुवैको पात्रको चरित्र चित्रण यो फिल्मको सबैभन्दा डिजास्टर पक्ष हो।लुते बनेका विजय बरालले जति ठाउँ पाएका छन् राम्रै गरेका छन्। गुर्जु दादा बनेका अर्पण थापाको चरित्र र स्क्रिन टाइम कमजोर देखियो।

पात्रगत चरित्र चित्रण हेर्दा सोनालाल बनेका सिताराम भन्दा अर्पणको पात्र बलियो बनाउन सकिने स्थान देखिन्छ। तर निर्देशक सोनालालतिरै बढी केन्द्रित भइदिँदा उनीको डेब्यु निर्देशन फितलो त भयो नै फिल्मको अवस्था पनि कमजोर बनिदियो।

सागर लम्साल उर्फ बले ‘सक्किगोनी’ को बलेको चरित्र मात्रै हैन संवाद शैलीको ह्याङबाट समेत बाहिर आउन सकेको देखिएन। पुलमा झुन्डिँदै गर्दा बोलेको संवादले फिल्मको पात्रको चरित्र भन्दा बलेको पात्र बढी झल्काउँछ।फिल्म रिलिज भइसकेपछि १५ मिनेटको दृश्य हटाउँदा पनि समस्या उस्तै रहनुले निर्माणमा कति कमजोरी भएको थियो भन्ने प्रस्ट हुन्छ।

'सक्किगोनी'का अधिकांश कलाकारसँगै अन्य हास्य कलाकारहरूलाई पनि फिल्ममा समेटिएको छ। फ्यान हेर्न आउने लोभमा निर्देशकले फिल्ममा कलाकारको थुप्रो त लगाए, तर त्यही थुप्रोमा कथा नै हरायो। फिल्मको क्लाइमेक्स उस्तै झुर। निर्देशकले सोचेका होलान् आफू टक्क क्लाइमेक्समा देखिँदा दर्शकले ताली बजाउँछन्। तर नतिजा गाली आएको पो देखियो।

बालेन शाहको र्यापले फिल्मको हाइप बढाउन निकै सघाएको थियो। त्यसको प्रभाव रिलिजको केही दिन हलमा देखियो पनि। त्यसमा सक्किगोनी टिमको क्रेजले पनि काम गर्यो। अनि बाहिरियो बेतुकका पात्र, कन्सिरी तताउने चरित्र चित्रण, अलमलिएको कथा र कमजोर पटकथाको वास्तविकता। अनि हलका सिट खाली हुँदै गए।

फिल्म निर्माण टिमको हितमा मेयर बालेन शाहले जसरी नेताबाट दिक्किएको र्याप 'म नेपाल हाँसेको हेर्न चाहन्छु' गाए अब चैँ फिल्म 'लाज शरणम्' हेरेर दिक्किएका दर्शकका हितका खातिर ‘म फिल्म हेरेर दर्शक हाँसेको हेर्न चाहन्छु’ भन्दै र्याप गाए उनी सबै अन्यायको विरुद्धमा रहेछन् भन्ने देखिन्थ्यो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij