Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

१८ वर्षपछि सडक स्तरोन्नति गर्न थालियो

१८ वर्षपछि सडक स्तरोन्नति गर्न थालियो

म्याग्दी : मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक स्तरोन्नति गरेर पक्की बनाउन थालिएको छ ।

बेनी नगरपालिकाले बेनी–पुलाचौर–टोड्के सडक योजनामार्फत विसं २०६५ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउने योजना सञ्चालन गरेको हो । बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गर्न लागिएको बताए । चालु आर्थिक वर्षका लागि रु एक करोड ७७ लाख ८८ हजार ४७२ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इञ्जिनियरिङ एण्ड बिल्डर्स प्रालिले गत पुस १२ गते रु एक करोड २२ लाख ५५ हजार २०० मा ठेक्का सम्झौता गरेको थियो ।

सडक फराकिलो पार्ने र पर्खाल निर्माण गरिरहेको निर्माण कम्पनीले पुलाचौर क्षेत्रमा ढलान सकेर कालोपत्रका लागि ग्राभेल गरेर तयारी थालेको छ । हालसम्म यसमा करिब ५० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको हुँदा यो योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सवइञ्जिनियर मिलन केसीले बताए। पाँच सय दुई मिटर दूरीमा नाली र १७४ दशमलव ७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उनले बताए ।

यो सडकको निर्माण सम्पन्न भएपछि स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्नेछ । बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट