Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

सद्भाव, संयमता र आर्थिक स्थिरता स् आजको साझा आवश्यकता

सद्भाव, संयमता र आर्थिक स्थिरता स् आजको साझा आवश्यकता

देशले यतिबेला केवल अप्रिय घटनाको सामना मात्र गरिरहेको छैन, हामी हाम्रो सामाजिक परिपक्वता, लोकतान्त्रिक संस्कार र आर्थिक सहनशीलताको पनि परीक्षा दिइरहेका छौं। कुनै पनि समाजको वास्तविक शक्ति संकट नआउँदासम्म होइन, संकटका बेला उसले अपनाउने विवेक, संयमता र एकताबाट मापन गरिन्छ। आज देश यस्तै मोडमा उभिएको छ।
देशका विभिन्न भागमा भएका अप्रिय घटनाले समाजमा चिन्ता र अन्योल सिर्जना गरेका छन्। यसको असर केवल सम्बन्धित स्थान वा समुदायमा सीमित रहँदैन। जब समाजमा असुरक्षाको भावना बढ्छ, त्यसको पहिलो प्रभाव अर्थतन्त्रमा देखिन्छ। लगानीकर्ताले नयाँ योजना स्थगित गर्छन्, पर्यटकले गन्तव्य परिवर्तन गर्छन्, बजारको चहलपहल घट्छ, उद्योगको उत्पादन प्रभावित हुन्छ र उपभोक्ताको आत्मविश्वास कमजोर बन्छ। आर्थिक गतिविधि विश्वासमा चल्ने प्रणाली हो, र विश्वास कमजोर हुँदा सम्पूर्ण अर्थतन्त्रले त्यसको मूल्य चुकाउनुपर्छ।

निजी क्षेत्रका लागि शान्ति कुनै राजनीतिक नारा होइन, व्यवसाय सञ्चालनको आधारभूत पूर्वशर्त हो। उद्योग, व्यापार, पर्यटन, यातायात वा सेवा क्षेत्रमध्ये कुनै पनि क्षेत्र अशान्त वातावरणमा फस्टाउन सक्दैन। एउटा पसलमा लागेको ताला केवल एउटा व्यवसाय बन्द हुनु मात्र होइनस त्यससँग जोडिएका कर्मचारी, आपूर्तिकर्ता, किसान, यातायात व्यवसायी र अन्ततः राज्यको राजस्वसमेत प्रभावित हुन्छ। त्यसैले अशान्तिको मूल्य कुनै एक पक्षले मात्र होइन, सम्पूर्ण समाजले तिर्नुपर्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो। विचार फरक हुन सक्छन्, माग र अपेक्षा पनि फरक हुन सक्छन्। तर असहमति व्यक्त गर्ने माध्यम हिंसा, तोडफोड, आगजनी वा सामाजिक वैमनस्य बन्न थाल्यो भने त्यसले कुनै पनि न्यायोचित उद्देश्यलाई कमजोर बनाउँछ। संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक अभ्यास नै दिगो समाधानका माध्यम हुन्। क्षणिक उत्तेजनाले समस्या बढाउन सक्छ, तर समाधान कहिल्यै दिँदैन।

आज अर्को चुनौती सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग पनि हो। सूचना प्रविधिले समाजलाई जोड्ने काम गरेको छ, तर अपुष्ट सूचना, उत्तेजनात्मक टिप्पणी र घृणालाई फैलाउने सामग्रीले समाजलाई विभाजित पनि गर्न सक्छ। अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार हो, तर त्यो स्वतन्त्रता जिम्मेवारीसँगै प्रयोग हुनुपर्छ। सत्यभन्दा छिटो फैलिने अफवाहले कहिलेकाहीँ हिंसाभन्दा ठूलो क्षति पुर्‍याउन सक्छ। यही परिवेशमा चितवनमा सम्पन्न भएको सर्वपक्षीय सद्भाव र्‍याली आशाको सशक्त सन्देश बनेको छ। राजनीतिक दल, उद्योगी–व्यवसायी, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी, युवा र सर्वसाधारण एउटै उद्देश्यका साथ सडकमा उत्रनु सामान्य घटना होइन। यसले चितवनले द्वन्द्वभन्दा संवाद, विभाजनभन्दा एकता र घृणाभन्दा सहिष्णुतालाई रोजेको स्पष्ट संकेत दिएको छ। समाजमा तनाव बढेका बेला यस्ता साझा पहलहरूले केवल सद्भावको सन्देश मात्र दिँदैनन्, नागरिकको आत्मविश्वास पनि पुनःस्थापित गर्छन्।

यस अवसरमा निजी क्षेत्र सरकारसमक्ष पनि केही अपेक्षा राख्छ। कानुनको शासन सबैका लागि समान हुनुपर्छ। दोषीमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ, तर निर्दोष नागरिक र व्यवसायीले भयमुक्त वातावरणमा आफ्नो दैनिकी सञ्चालन गर्न पाउने अधिकार पनि उत्तिकै सुनिश्चित हुनुपर्छ। राज्यले सुरक्षा दिनुका साथै न्याय निष्पक्ष रूपमा भएको अनुभूति गराउन सक्नुपर्छ। न्यायमा विश्वास बलियो भयो भने समाजमा शान्ति पनि दिगो हुन्छ।

नेपाल विविधताको देश हो। यही विविधता हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानको आधार हो। त्यसैले कुनै एक व्यक्तिको गल्तीलाई सम्पूर्ण समुदायसँग जोड्ने, सामाजिक ध्रुवीकरण बढाउने वा भावनात्मक उत्तेजनालाई राजनीतिक वा सामाजिक लाभका लागि प्रयोग गर्ने प्रवृत्ति राष्ट्रहितविपरीत हुन्छ। आज एकअर्कालाई दोषी ठहर गर्ने होइन, एकअर्काको पीडा बुझ्ने संस्कार आवश्यक छ। आजको विश्वमा प्रतिस्पर्धा हतियारको होइन, अर्थतन्त्रको हो। लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने राष्ट्रहरू नै समृद्ध भइरहेका छन्। नेपालले पनि यही मार्ग रोज्नुपर्छ। तर सामाजिक अस्थिरता, अविश्वास र द्वन्द्वले समृद्धिको यात्रालाई सधैं पछाडि धकेल्छ। त्यसैले सामाजिक सद्भाव केवल नैतिक मूल्य होइन, आर्थिक विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार पनि हो।

आजको आवश्यकता प्रतिशोध होइन, विश्वास हो। उत्तेजना होइन, संयमता हो। विभाजन होइन, सहअस्तित्व हो। राज्य, राजनीतिक दल, निजी क्षेत्र, सञ्चारमाध्यम र नागरिक समाज सबैले आफ्नो(आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सके मात्र वर्तमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ। समृद्ध नेपालको यात्रा उद्योगबाट अघि बढ्छ, उद्योग विश्वासबाट चल्छ, र विश्वास सद्भावबाट जन्मिन्छ भन्ने कुरा सबैले आत्मसात गर्नु पर्छ। त्यसैले सामाजिक सद्भावको रक्षा गर्नु भनेको केवल समाजलाई जोगाउनु मात्र होइनस नेपालको भविष्य, अर्थतन्त्र र भावी पुस्ताको सम्भावनालाई सुरक्षित गर्नु पनि हो।

राजेन्द्र ‌ओली
वरिष्ठ उपाध्यक्ष
चितवन उद्योग वाणिज्य संघ

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट