काठमाडौँ : विद्यार्थीहरूले तोकिएको समयमा नै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा समक्ष माग गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले आज सोमबार ज्ञापनपत्र बुझाउँदै शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गरी तोकिएको समयमानै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न माग गरेका हुन् ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका सहसंयोजक हिक्मतकुमार बुढाको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । ३३ बुँदे मागपत्रमा त्रिविका सबै तहका परीक्षा केन्द्रहरू अनिवार्य रूपमा आङ्गिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्नुपर्ने, १ हजारभन्दा कम विद्यार्थी भएका विषयको नतिजा ३० दिनभित्र र १० हजारभन्दा बढी विद्यार्थी भएका विषयको नतिजा ६० दिनभित्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने लगायतका विषयहरू समेटिएका छन् ।
मागपत्रमा निजी तथा आङ्गिक क्याम्पसमा शुल्कको वैज्ञानिक एवं पारदर्शी नियमन, किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था, थेसिस मूल्याङ्कन प्रणालीलाई विकेन्द्रीकरण गर्नुपर्ने माग गरिएको छ ।
यस्तै, उत्तरपुस्तिका घरमै लगेर परीक्षण गर्ने परिपाटीको अन्त्य, त्रिविको अतिक्रमित जग्गा फिर्ता, डिजिटल विद्यार्थी सेवा पोर्टलको सुरुवात गरिनुपर्ने र डिन, निर्देशक तथा क्याम्पस प्रमुख जस्ता पदहरूमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij