Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

वरिष्ठ साहित्यकार राजेन्द्र विमलको निधन

वरिष्ठ साहित्यकार राजेन्द्र विमलको निधन

जनकपुर : वरिष्ठ साहित्यकार प्रा।डा। राजेन्द्र विमलको निधन भएको छ। सोमबार राति साढे ११ बजेपछि उनको प्लस रेट र अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि जनकपुरकै अस्पतालमा लगिएको थियो। 

डा. विमलका कान्छा छोरा विभाष लाभका अनुसार राती साढे ११ बजेसम्म कुराकानी गरिरहेका भएका विमलको शरीरमा एक्कासी परिवर्तन देखिएपछि अस्पताल भर्ना गरिएको थियो।  विमलको उपचारकै क्रममा मंगलबार विहान निधन भएको हो। 

नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेखेका विमलको जन्म सन् १९४७ मार्च २६ मा जनकपुर–१० स्थित देवीचोकमा भएको थियो।

उनले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका छन्। उनले भाषा विज्ञान विषयमा विद्यावारिधि गरेका थिए। डा विमल २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोडिएका थिए। 

कथालेखनमा लामो समयदेखि सक्रिय डा. विमल तराई–मधेशको सुरुचिपूर्ण कथामार्फत नेपाली आख्यान साहित्यमा महत्त्वपूर्ण योगदान दिएबापत मधुपर्क सम्मान २०७६ बाट सम्मानित भइसकेका छन्। उनलाई मिथिला क्षेत्रमा मैथिल भाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराउने र नेपाली भाषामा अनेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याएको भन्दै २०६६ को जगदम्बाश्री पुरस्कारद्वारा पनि सम्मानित गरिएको थियो। 


डा विमल १२ वर्षको छँदा नै उनको पहिलो लघुकथा आर्यावर्त हिन्दी दैनिकमा प्रकाशित भएको थियो। १५ वर्षको उमेरमा आर्यावर्तमै प्रकाशित ‘कचनार के पेंड’ कथा निकै लोकप्रिय भएको थियो। त्यसै वर्ष मिथिला मिहीर  (मैथिली मासिक)मा ’मुईल बच्चा’ कथा प्रकाशित भएको थियो। एसएलसी परीक्षापछिको फुर्सदको समयमा उनले ‘चान अहाँ उदास छी’ उपन्यास लेखेका थिए।

पारिवारिक सदस्यका अनुसार विमलको मंगलबार नै जनकपुरको स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij