चितवन : विद्युतीय सवारीसाधन (ईभी) आफैँमा असुरक्षित नभएको भन्दै केही दुर्घटनाका घटनालाई आधार बनाएर समग्र ईभी प्रविधिलाई असुरक्षित देखाउने प्रवृत्तिप्रति सरोकारवालाले सचेत गराएका छन्। उनीहरूले दुर्घटनाको वास्तविक कारण पहिचान गर्न चालकको व्यवहार, चार्जिङको अवस्था, ब्याट्री तथा सवारीको कन्डिसन लगायतका पक्षलाई समेत हेर्नुपर्नेमा जोड दिएका छन्।

चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा) चितवनको आयोजनामा भएको ईभी सचेतना तथा जनचेतनामूलक कार्य क्रममा विद्युतीय सवारीसाधनको सुरक्षा, प्रविधि, चार्जिङ प्रणाली तथा सुरक्षित प्रयोगका विषयमा जानकारी दिइएको हो। कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले दुर्घटना अपवादको घटना भएको उल्लेख गर्दै एउटा घटनाका आधारमा सबै ईभीलाई असुरक्षित भन्न नहुने बताउनुभयो।

दुर्घटना हुँदा त्यसको वास्तविक कारण खोजिनुपर्ने भन्दै उहाँले चालकको बानी, चार्जिङको अवस्था र गाडीको कन्डिसनलाई समेत विश्लेषण गर्नुपर्ने बताउनुभयो। सुवेदीले ईभीले वातावरणीय प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउने उल्लेख गर्दै प्रविधिका सकारात्मक पक्षलाई समेत हेर्नुपर्ने बताउनुभयो। एउटा सवारीमा समस्या हुँदैमा सबै सवारी खराब नहुने र ईभीमा समस्या देखिए त्यसको कारण खोजिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ईभी प्रविधिबारे सही सूचना र जनचेतना विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ प्रविधिको प्रयोगसँगै सुरक्षा मापदण्ड, जिम्मेवार प्रयोग र आवश्यक सावधानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
ईभी प्रविधिसम्बन्धी प्रस्तुति दिँदै रविन पौडेलले विद्युतीय सवारीसाधनमा चालक तथा यात्रुको सुरक्षालाई ध्यानमा राखेर विभिन्न सुरक्षा प्रणाली र प्रविधि प्रयोग गरिएको जानकारी दिनुभयो। उहाँले ईभीसँग सम्बन्धित दुर्घटनाका घटनालाई सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मका एल्गोरिदमले बढी हाइलाइट गर्ने प्रवृत्ति समेत रहेको बताउनुभयो। पौडेलका अनुसार आधुनिक ईभीमा दुर्घटना तथा जोखिमको अवस्थामा चालक र यात्रुको सुरक्षा बढाउने विभिन्न फिचर राखिएका हुन्छन्। एक्सिलरेटर तथा ड्राइभिङ प्रणालीमा समेत सुरक्षालाई ध्यानमा राखिएको बताउँदै उहाँले ईभीको प्रविधि बुझेर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा ब्याट्रीको अवस्था, चार्जिङ प्रणाली, चार्ज गर्दा अपनाउनुपर्ने सावधानी, नियमित परीक्षण तथा सवारीको समग्र कन्डिसनबारे पनि जानकारी दिइएको थियो। निर्माता कम्पनीले तोकेको चार्जर तथा चार्जिङ प्रणाली प्रयोग गर्ने, ब्याट्री वा विद्युतीय प्रणालीमा समस्या देखिएमा प्राविधिकको सहयोग लिने र नियमित मर्मतसम्भार गर्नुपर्ने विषयमा सहभागीलाई सचेत गराइएको थियो। वक्ताहरूले ईभीमा कुनै दुर्घटना वा प्राविधिक समस्या देखिए त्यसलाई आधार बनाएर प्रविधिमाथि सामान्य निष्कर्ष निकाल्नुभन्दा घटनाको कारण, सवारीको अवस्था, चालकको व्यवहार र प्रयोगको तरिकाबारे तथ्यका आधारमा अध्ययन गर्नुपर्ने बताएका थिए।

काडा चितवनका अध्यक्ष इन्द्र रेग्मीले ईभि सवारी लाखमा २५ वटामा आगलागी हुने सम्भावना रहेको र नेपालमा अहिलेसम्म ४ वटा सवारीमा आगलागीको घटना भएको जानकारी दिदै अपवाहा फैलाउन नहुने जानकारी दिए । अध्यक्षतामा भएको कार्यक्रममा चितवनका प्रहरी प्रमुख एसपी पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, उपाध्यक्ष जनक पौडेल, नारायण प्रधान, काडा चितवनका संस्थापक अध्यक्ष ईश्वर श्रेष्ठलगायतको सहभागिता रहेको थियो। बढ्दो ईभी प्रयोगसँगै यसको प्रविधि र सुरक्षाबारे सर्वसाधारणमा सही जानकारी पुर्याउने तथा सुरक्षित प्रयोगका लागि आवश्यक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij