तेहरान : इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७ः २५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए ।इलाम चिकित्सा विज्ञान विश्वविद्यालयको आपत्कालीन चिकित्सा सेवा विभागका प्रमुख मेहदी शाबानीका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली, १० वटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस घटनास्थलमा परिचालन गरिएको थियो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि इलाम तथा छिमेकी खुजेस्तान प्रान्तका अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।दुर्घटनाको कारणबारे सम्बन्धित सरकारी निकायले अनुसन्धान गरिरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने फार्सले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij