Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध

कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध

गुल्मी :  सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडक सञ्चालन भएको तीन दिनपछि पुनः माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । अहिले सडक माथिबाट पहिरो झरिरहेका कारण थप जोखिम हुनसक्ने भन्दै भोलि बिहान पहिरोको अवस्था हेरेर मात्र सडक सञ्चालनका लागि डोजर परिचालन गरिने उनले बताए ।

सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेकाले आज राति पहिरो हटाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि अहिले उक्त करिडोर हुँदै पाल्पा, बुटवल, बागलुङ तथा पर्वतसम्म आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका छन् । उक्त सडक जिल्लाको व्यस्त सडकअन्तर्गत पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट