काठमाडौं : काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ टनेल आज ब्रेकथ्रु हुँदै छ। ३ हजार ४२२ मिटर लामो दायाँ टनेल छिचोल्न लागिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले टनेलको ब्रेकथ्रु गर्ने नेपाली सेनाले जनाएको छ।यसअघि ३ हजार ४८६ मिटर लामो बायाँ टनेलको ब्रेकथ्रु भइसकेको छ। दायाँ टनेलको ब्रेकथ्रुसँगै यो सुरुङमार्गका दुवै टनेल खन्ने काम सम्पन्न हुने नेपाली सेनाका सहायक रथी तथा सूचना अधिकृत राजाराम बस्नेतले जानकारी दिए।
आयोजनाको २०८३ असोज मसान्तसम्मको प्रगति विवरणअनुसार दायाँ टनेलमा ३ हजार ३४२.७ मिटर खन्ने काम सकिएको छ।आयोजनाको असोज मसान्तसम्मको समग्र भौतिक प्रगति ५०.५४ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत (मोबिलाइजेसनसहित) पुगेको बस्नेतले बताए।परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८२÷८३ सम्म ९२ अर्ब ६८ करोड खर्च भएकामा २०८३ असोजसम्म खर्च ९५ अर्ब १७ करोड पुगेको हो।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ७०.९७७ किलोमिटर लामो यो द्रुतमार्गको निर्माण अवधि सरकारले फेरि तीन वर्ष थपेको छ। २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अब समयसीमा २०८६ चैत पुगेको छ।यसअघि सरकारले २०८० वैशाखमा करिब २८ महिना म्याद थपेर २०८३ चैतसम्म पु¥याएको थियो। सुरुङ र लामा पुलको निर्माण, खोकना क्षेत्रको जग्गा अधिग्रहण विवाद, ठेक्का व्यवस्थापनमा भएको ढिलाइ र प्राविधिक जटिलताले आयोजना प्रभावित हुँदै आएको छ।सरकारले २०७४ वैशाख २१ गते निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो भने डीपीआर २०७६ भदौ १ गते स्वीकृत भएकाले सुरुवाती चरणमै काम प्रभावित भएको थियो।
द्रुतमार्गमा जम्मा सातवटा सुरुङमार्ग निर्माण गरिँदै छन्, जसको कुल लम्बाइ करिब ११ किलोमिटर छ । महादेवटारबाहेक धेद्रे (बायाँ १,७२८ र दायाँ १,६५३ मिटर) तथा लेनडाँडा (बायाँ १,६३३ र दायाँ १,६१२ मिटर) सुरुङका दुवै ट्युबको ब्रेकथ्रु भइसकेको छ।कुनै टनेल ब्रेकथ्रु नभएका सुरुङमध्ये सबैभन्दा लामो चन्द्राम भीर २ हजार २५० मिटर लामो छ, जसमा ८४७.७ मिटर अर्थात् करिब ३८ प्रतिशत खन्ने काम सकिएको छ। १ हजार ८७ मिटर लामो देवीचौरमा १५३.६ मिटर र ५२० मिटर लामो सिसौटारमा ६४.४ मिटर खनिएको छ।५८३ मिटर लामो मौरीभीरमा पोर्टल निर्माणको काम भइरहेको छ। महादेवटारको दुवै ट्युबको ब्रेकथ्रुपछि सुरुङको भित्री संरचना, लाइनिङ, सडक र अन्य प्राविधिक काम अघि बढाउनुपर्नेछ।
पुलतर्फ द्रुतमार्गमा कुल ८९ स्थानमा करिब १२.८८५ किलोमिटर लामा पुल निर्माण हुँदैछन्। ८५ स्थानका पुलको खरिद सम्झौता भई निर्माण चरणमा छन्। हालसम्म ५७ पुलको फाउन्डेसन, ४० पुलको सबस्ट्रक्चर र १७ पुलको सुपरस्ट्रक्चरको काम सम्पन्न भएको छ।मकवानपुरको लेनडाँडा खण्डको ३३३ मिटर लामो पुल नम्बर ३५ लगायत केही पुल बनिसकेका छन् भने जितपुर र चालिसे खोलामाथिका करिब ३०० मिटर लामा पुल अन्तिम चरणमा पुगेका छन्।धेद्रे, लेनडाँडा र बकैया खोला क्षेत्रमा ८१ देखि ८२ मिटरसम्म अग्ला पुल बन्दैछन्। १६ वटा विशेष प्रकृतिका पुल आधुनिक बक्स गर्डर प्रविधिमा बन्दैछन्, जसमा चिनियाँ कम्पनी संलग्न छन् भने साधारण प्रकृतिका पुल स्वदेशी कम्पनीले बनाइरहेका छन्।
तर, ललितपुरको खोकना–डुकुछाप क्षेत्रमा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी विवाद नसुल्झँदा त्यहाँका चारवटा पुलको काम अझै सुरु हुन सकेको छैन। सडकतर्फ ११.०२ किलोमिटरमा सब–बेस, ५.८ किलोमिटरमा बेस र १ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ । सर्भिस लेनमा ७ किलोमिटर कालोपत्रे भइसकेको छ। सेनाका अनुसार निजगढ क्षेत्रमा एनिमल अन्डरपासको सुपरस्ट्रक्चर सम्पन्न भएको छ भने टोल प्लाजा र इन्टरचेन्जको काम भइरहेको छ। हालसम्म ५५,८८७ रुख कटान भएको छ। प्याकेजगत रूपमा सबैभन्दा बढी प्रगति प्याकेज नं. २ (२९.१ देखि ३३.७ किमि) को ७२.९ प्रतिशत छ भने सबैभन्दा कम प्याकेज नं. ९ ख (१८ देखि २०.७ किमि) को ३.३ प्रतिशत छ। प्याकेज नं. ९ क को ५.३ प्रतिशत, ८ ख को १०.७ प्रतिशत र ८ क को १६ प्रतिशत प्रगति भएको छ।
काठमाडौंको खोकनाबाट सुरु भई ललितपुर, काठमाडौं र मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिने यो द्रुतमार्गमध्ये ललितपुरमा ९ किलोमिटर, काठमाडौंमा ४.६ किलोमिटर, मकवानपुरमा ४९.७ किलोमिटर र बारामा ७.६ किलोमिटर सडक बन्नेछ।नेपालमै पहिलो पटक ७०.९७७ किलोमिटरमा ८९ वटा धरहरा भन्दा अग्ला पुलहरु बन्दैछन्। द्रुतमार्गमा जटिल भौगोलिक बनावटका कारण साना–ठूला गरी कुल ८९ वटा पुल निर्माण भइरहेका छन्।आयोजना निर्माण व्यवस्थापक नेपाली सेनाका अनुसार यति उचाइका सडक पुल नेपालमात्र होइन, भारतमा समेत बनेका छैनन्। यसले काठमाडौं र तराईलाई एक समथर द्रुतमार्गका रूपमा जोड्नेछन्।फास्ट ट्रयाकले नेपालको तराई भेगलाई संघीय राजधानी काठमाडौंसँगको दूरी एक घन्टामा झार्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij