काठमाडौँ : रास्वपा प्रवेश गर्ने उद्देश्यसहित बर्दियाबाट काठमाडौँ आइपुगेका नेकपा नेता सुरेश पन्थलाई बीच सडकमै कुटपिट गरिएको छ । पैसा ठगी गरेको आरोप लगाउँदै केही महिलाले उनीमाथि हातपात गरेका हुन् ।
घण्टीघर परिसरमा उनको गाडी पार्किङ गरिएको अवस्थामा उनीमाथि कुटपिट गर्नुको ठोस कारण नखुले पनि सार्वजनिक भिडियोमा महिलाहरुले ‘पैसा ठगेर भागेको’ आरोप लगाएको सुनिन्छ । पन्थविरुद्ध यसअघि नै प्रहरीमा उजुरी हाले पनि कुनै कदम नचाहिएको उनीहरुको दाबी छ । वातावरण तनावग्रस्त बनेपछि प्रहरीले पन्थलाई नियन्त्रणमा लिएर महिलाहरुलाई शान्त पारेको हो ।
नेकपाबाट दुई पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पन्थले पछिल्लो समय रास्वपाको पक्षमा वकालत गर्दै आएका थिए । यद्यपि, उनले पार्टीलाई लिखित रुपमा राजीनामा भने बुझाएका छैनन् ।
नेकपा बर्दियाका सहइञ्चार्ज दुर्गाबहादुर थारु कविरका अनुसार पन्थले पछिल्लो समय निकटस्थहरुसँग रास्वपा प्रवेश गर्न लागेको बताउँदै आएका थिए । ‘हामीलाई औपचारिक रुपमा पार्टी छाडेको जानकारी गराउनुभएको छैन’, उनले भने, ‘तर उहाँले केही नजिकका साथीहरुसँग रास्वपामा जाँदैछु भनेको जानकारी पार्टीमा आएको छ ।’
कविरका अनुसार पछिल्लो समय उनी नेकपाको कार्यक्रममा भन्दा रास्वपाको वकालतमा व्यस्त देखिँदै आएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij