Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित सञ्चारमन्त्री डा तिमिल्सिनालाई भेटेको स्थानीय युवाहरुसँगको छलफलमा उनले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिइरहेको बताए।

मन्त्रालयमा आज भएको उक्त छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) तथा जुगलका स्थानीय युवाहरु सहभागी थिए।

सांसद विष्टले काठमाडौँ उपत्यकाभित्रै टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नरहेको गुनासो आइरहेको उल्लेख गर्दै सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा नागरिक अझै सञ्चार सेवाबाट वञ्चित हुनुपरेको बताए। उनले विशेषगरी दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न आवश्यक पहल गर्न आग्रह गरे।

सो क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तरसम्बन्धी समस्या देशभर रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोगसँगै नयाँ खरिद प्रक्रिया पनि अघि बढाइएको बताए।

देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर सुधार्न ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन भइरहेको उनले जानकारी दिए।

सञ्चारमन्त्री डा तिमिल्सिनाका अनुसार आगामी करिब डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० हाराहारी टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।

करिब १२ अर्ब बराबरको ठेक्का प्रक्रिया अगाडि बढेको र निर्धारित अवधिभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट