Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

कोशी लोक सेवा आयोग अनियमितता छानबिन गर्न इन्द्रबहादुर आङ्बोको नेतृत्वमा उपसमिति गठन

कोशी लोक सेवा आयोग अनियमितता छानबिन गर्न इन्द्रबहादुर आङ्बोको नेतृत्वमा उपसमिति गठन

विराटनगर  : कोशी प्रदेश लोक सेवा आयोगमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न प्रदेश सुशासन तथा योजना समितिले उपसमिति गठन गरेको छ ।बिहीबार बसेको समितिको बैठकले पूर्वमन्त्री तथा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा उपसमिति गठन गरेको हो । उपसमितिलाई आयोगका तत्कालीन अध्यक्ष महेन्द्रनाथ गुरागाईंमाथि लागेका आरोपबारे छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।

उपसमितिमा एमालेका सांसद राधाकृष्ण खनाल, कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेकी मिना श्रेष्ठ सदस्य छन् । प्रदेशसभा सचिव सुदर्शन खड्का सदस्य सचिव रहेको उपसमितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समितिकी सभापति खगेश्वरी पौडेलले बताइन् ।

चौतर्फी आलोचना र गम्भीर आरोप खेपिरहेका गुरागाईंले गत कात्तिक १६ गते नै पदबाट राजीनामा दिएका थिए । त्यसअघि कात्तिक १० गते बसेको संसदीय समितिको बैठकले आयोगको परीक्षा प्रणालीलाई नै ‘कमाउ धन्दा’ बनाइएको र तत्कालीन अध्यक्षले राजीनामा दिएर उन्मुक्ति खोजेको भन्ने आरोपमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।
गुरागाईंमाथि आयोगको परीक्षा प्रणालीका हरेक चरणमा सहभागी भएर अस्वाभाविक आर्थिक लाभ लिएको आरोप छ । उनले आफैँ कच्चा प्रश्नपत्र तयार गर्ने, परिमार्जन गर्ने, उत्तरपुस्तिका जाँच्ने, कम्प्युटर परीक्षणमा सहभागी हुने र अन्तर्वार्तासमेत लिने गरेको विषय सार्वजनिक भएको थियो । यसरी काम गरेबापत उनले प्रतिशिफ्ट २ हजार ५०० रुपैयाँसम्म भत्ता बुझ्ने गरेको आरोप छ ।

त्यस्तै, अध्यक्ष गुरागाईंले आफू र मातहतका कर्मचारीको सेवा सुविधा बढाउन ‘खर्च व्यवस्थापन कार्यविधि, २०७७’ संशोधनको प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएका थिए । तर, मन्त्रालयले २०८३ साउन १८ गते पत्र पठाउँदै दैनिक तथा नियमित कामका लागि कर्मचारी नियुक्त भइसकेको अवस्थामा थप सुविधा दिनु वित्तीय अनुशासनविपरीत हुने भन्दै प्रस्ताव अस्वीकार गरेको थियो ।
आयोगको वेबसाइटमा सूचना अपलोड गरेबापत प्रतिअपलोड ३०० रुपैयाँ र फाराम रुजु गरेबापत प्रतिफाराम ६ देखि ७ रुपैयाँसम्म लिने व्यवस्था गरिएको विषय सार्वजनिक भएपछि गुरागाईंले राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट